मलाई ‘अंक दुई’ खुब मन पर्छ।
हामी दुई दाजुभाइलाई बा-आमाले
“यी दुई छोराहरु हाम्रा आँखाका नानी हुन्” भन्दा
हामी दुई भाइका
दुबै आँखाबाट हर्षाश्रु बग्ने गर्दथ्यो।
बा-आमाका दुई हातका
दुई-दुई औँलाहरुले आँसु पुछ्दै
“दुबै छोराहरु ज्ञानी हुनु” भनेको सुन्दा
मेरो मानसपटलमा ‘अंक दुई’ लुट्पुटिरहन्थ्यो।
दुई छाक टार्न
दुई हातमा ठेला उठ्ने गरि
दुईबेला बाले काम गरेर
दुई कलिला ओठहरुमा
दुई धर्सो खुशी ल्याउन गरेको दु:खका दिनहरु सम्झँदा
‘अंक दुई’ मलाई खुब याद आउँछ।
गुच्चा,चुङ्गी भेला पार्दै
डन्डीबियो खेल्दै
हामी दुई भाइ भन्ने गर्थ्यौं
“हाम्रा दुई भगवानलाई हामी कहिल्यै दुःख दिने छैनौं।”
हाम्रा दुई भगवान….. जननी र जनक।
अहिले,
दुई भगवानको
दुई ओठमा
दुई पित्को खुशी भर्न
दुई आशा त्यही छोडिआएको छु।
दुई जोडा प्रेमको साडी
दुई अटुट सम्बन्धको चुरा
दुई धर्को विश्वासको सिन्दुर किन्न
दुई थोपा आँसु खसाउँदै
दुई मन पार्दै उनलाई उतै छोडिआएको छु।
दुई सन्तानलाई
दुई अक्षर चिनाउन
दुई कुरा सिकाउन
दुई सपना पनि उतै छोडिआएको छु।
दुई तल्ले फलामको खियामा सुतेर
दुई गाँस बाध्यता चपाउँदै, दगुर्दै
दुई थोपा तितो पसिना पिउँदै
दुई बर्ष पछिको मिलनको समय गिन्ती गर्दै
दुई आँखा खोल्दैछु हरेक दिन,
दिनले आफ्नो दुई आँखा खोल्नु अगावै।
मलाई थाहा छैन,
बालाई दुई बेला सुन्ने रेडियो
दुई समय हेर्ने घडी लैजान्छु वा….
आमा र सारथीलाई
दुई थान रातो पोतेमा उनिएको तिलहरी लैजान्छु वा….
दुई सन्तानलाई
भविष्यको खातिर दुई ज्ञानका ज्योति लैजान्छु वा…..
मेरो माटोको लागी
दुई सिप र श्रोत लैजान्छु वा……
वा……..!
आफै फर्कनेछु “अंक दुई” लाई टुहुरो पार्दै,
दुई जनले उठाईनसक्ने
ठुलो रातो बाकसमा!!!
श्री भवानी नेपाल
ईटहरी-१२ खनार
हाल: युएई दुबई