राजनीति – यो शब्द हाम्रो जीवनको अनिवार्य हिस्सा बनेको छ। बिहानको चिया कपदेखि साँझको चउरासम्म, राजनीतिले हाम्रा संवादहरू र सोचाइहरूमा गहिरो प्रभाव पार्छ। तर, आजको राजनीतिक यात्रा कुन दिशातर्फ दौडिरहेको छ? सेवा गर्ने सोचले, कि सिंहासन कब्जा गर्ने स्वार्थले ?

हामीले हाम्रो इतिहास नियाल्ने हो भने, राजनीति समाज सुधारको साधन थियो। भीमनिधि तिवारीले साहित्यबाट चेतना फैलाए भने मदन भण्डारीले राजनीतिक विचारधाराबाट क्रान्तिको आँधी ल्याए। तर आज, तिनीहरूको सपना बिर्सिएर राजनीति व्यक्तिगत प्रतिष्ठा र सम्पत्तिको यन्त्र बन्दै गएको देखिन्छ।

सेवा गर्न आउने कि सत्ता कब्जा गर्न ?

एक समय थियो, जब राजनीतिज्ञहरू सादा जीवन जिउँथे। उनीहरूको मुखमा मिठास थिएन, तर व्यवहारमा इमानदारी थियो। आज त्यही राजनीतिज्ञ बन्नेहरू चुनावका बेला गाउँटोल चहार्छन्, तर जितेपछि ठूल्ठूला भवनहरूमा हराउँछन्।
चुनाव आउँछ, भाषणका वर्षा पर्छन्– “हामी तपाईंको सेवक हौं।”
चुनाव सकिन्छ, सेवा शब्दको चिहान खोपिन्छ।

प्रश्न उठ्छ– किन राजनीति सेवा होइन, व्यापार बन्न पुग्यो ?

जसले सबैभन्दा बढी झुठो सपना बेच्न सक्छ, उही सफल नेता बन्छ। राजनीतिक दलहरू चुनावका बेला एक-आपसमा दोषारोपण गर्छन्, चुनावपछि चिया गफमै सबै भेद मेटिन्छ।
र, आम जनता ?
उनीहरू झन् झन् निराश हुन्छन्, राजनीतिप्रति अविश्वास बढ्छ।
तर, के दोष मात्र नेताको हो ?
के हामी जनताले पनि आफ्नो जिम्मेवारी बिर्सेका छैनौं ?

राजनीति परिवर्तन गर्नेलाई होइन, नाफा दिनेलाई रोज्ने प्रवृत्ति

जब नेताले नोट र मदिराले मत किन्छन्, जब जात र क्षेत्रको नाममा भोट मागिन्छ, तब हामीले सोच्नुपर्छ – राजनीति बिग्रेको कि हाम्रो चेतना बिग्रिएको ?

राजनीति सुधार्नको लागि, नेता मात्र ठीक हुनु आवश्यक छैन; जनता पनि सचेत हुनुपर्छ। हामीले नेता होइन, नीति रोज्नुपर्ने हो। नारा होइन, व्यवहार हेर्‍नुपर्ने हो। तर, हाम्रा नजरमा अझैसम्म नेताको जुलुस, भाषण र भोज महत्वपूर्ण छ।

साँचो राजनीतिमा तिघ्रा देखाएर नारा चिच्याउनु पर्दैन, काम गरेर जनता आफैंले सम्मान दिन्छन्। भीमनिधि तिवारीले कलम चलाए, आवाज चिच्याएनन्; मदन भण्डारीले सिद्धान्त बोक्दै सपना देखाए, नाटक गरेनन्।

भविष्यको राजनीति: अबको बाटो

युवा पुस्ताले राजनीति नदेखेर गिज्याउन थालेका छन्। “सब एकै हुन्” भन्ने मानसिकता दिनदिनै बढ्दैछ।
तर, यदि सबै युवाले राजनीतिबाट विमुख भए भने, राजनीति अपराधीको अखडामात्र बन्नेछ।
हामीलाई मदन भण्डारी जस्ता स्वप्नद्रष्टा चाहिन्छन्, भीमनिधि तिवारीजस्ता सच्चा चिन्तक चाहिन्छन्।

राजनीति फेरि सेवा बन्न सक्छ, यदि:

१. नेतृत्वमा इमानदार र योग्य व्यक्तिहरू आउँछन्।
२. जनताले साँचो मताधिकारको शक्ति प्रयोग गर्छन्।
३. शिक्षा, चेतना र सवाल उठाउने संस्कार विकास हुन्छ।
४. मूल्य र आदर्श माथि राजनीति टिकाइन्छ।

आज हामी यति धेरै विभाजित भयौं कि विचारभन्दा पार्टी ठुलो भयो, नीति भन्दा नेताको फोटो ठूलो भयो।
साच्चिकै, हामीले राजनीतिलाई मनोरञ्जन होइन, परिवर्तनको सशक्त साधन बनाउनु छ।

“यदि राजनीति सेवा गर्न होइन, स्वार्थका लागि गरिन्छ भने, हाम्रो मुलुकले कहिले शिर उठाउन सक्ला?”
त्यसैले, आउनुहोस् – हामी राजनीति हेर्ने दृष्टिकोणलाई नै बदलौं।
हामी आँखा बन्द गरेर दलको झण्डा नउचालौं, विवेकले सही-गलत छुट्याउने आँखा खोलौं।

किनकि देश बनाउने सपना टाँसिएको छ हाम्रै कन्धामा, हाम्रै निर्णयमा।
राजनीति त अन्ततः साधन हो – सेवा वा स्वार्थ बनाउने कुरा हाम्रो चेतना र चयनमा भर पर्छ।

सुजन पन्थ
शिवपुरी-५,नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x