नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका–६ निवासी १५ वर्षीया सोनिया तामाङले दोस्रो राइनो मुवाँथाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तेस्रो पटक प्रथम स्थान हासिल गरी ह्याट्रिक सफलता प्राप्त गर्नुभएको छ।
चितवन राइनोज मुवाँथाईद्वारा आयोजित उक्त प्रतियोगिता यही १३ र १४ गते नारायणगढस्थित सिद्धार्थ होटलमा सम्पन्न भएको थियो।


प्रतियोगितामा सहभागी सोनियाले २३ वर्षीया प्रतिद्वन्द्वी सपना गुरुङलाई पराजित गर्दै विजयी बन्न सफल हुनुभएको हो।
सोनिया हाल काठमाडौंको ठूलो भ¥याङस्थित लायन मुवाँथाई फाइट क्लबमा प्रशिक्षक अनिलराज शाक्यको मार्गदर्शनमा प्रशिक्षण लिँदै आउनुभएको छ। उहाँको यो उपलब्धिले गाउँ तथा जिल्लाको खेलकुद क्षेत्रमा गौरव थपेको छ।
यसैबीच, सोनिया यही १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि सहभागी हुँदै हुनुहुन्छ। खेलकुद र अध्ययनलाई सँगसँगै अगाडि बढाउँदै उत्कृष्ट सफलता हासिल गरेकोमा उहाँको सर्वत्र प्रशंसा भइरहेको छ।


