नुवाकोट /
जिल्लाको क्षेत्र नम्बर -१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विक्रम तिमिल्सिना सञ्चारमन्त्री बन्ने भएका छन्। नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई करिब ४ हजार मतान्तरले पराजित गर्दै निर्वाचित भएका तिमिल्सिनाले मन्त्रिपरिषद्मा महत्वपूर्ण जिम्मेवारी पाएका हुन्।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेटमा उनलाई सूचना तथा सञ्चार मन्त्रीका साथै सरकारको प्रवक्ताको जिम्मेवारी समेत दिने गरी पद सुनिश्चित गरिएको जनाईएको छ।


तिमिल्सिना पेशाले पूर्व पत्रकार समेत हुन्। उनी नुवाकोटको पञ्चकन्या गाउँपालिका–१, बानियाटारका स्थायी बासिन्दा हुन्। सञ्चार क्षेत्रमा लामो समय काम गरेका उनले रेडियो सगरमाथामा करिब ९ वर्ष कार्यक्रम उत्पादक तथा प्रस्तोताको रूपमा योगदान दिएका थिए। करिब १२ वर्षअघि रेडियो छोडेर उच्च शिक्षाका लागि विदेश गएका थिए।
शैक्षिक रूपमा उनले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा स्नातकोत्तर (एमए) गरेका छन् भने अस्ट्रेलियाबाट राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी हासिल गरेका छन्। अध्ययनका क्रममा उनले अस्ट्रेलियाबाट सञ्चालन हुने ‘नेपाल एक्सप्रेस’मा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरेका थिए। त्यस्तै, सिड्नीबाट सञ्चालन हुने ‘साउथ एसिया डटकम डट एयू’ न्युज पोर्टलमा सम्पादकीय सल्लाहकारको रूपमा पनि काम गरेका थिए।

