नुवाकोट साहित्य सङ्गमले २०८० वैशाख २ गते वार्षिक कार्यक्रम सम्पन्न गर्दै गर्दा मेरो उपस्थिति रहेको थियो। सोही दिन कवि शम्भुप्रसाद गजुरेलको कुटुलीकोसा ( कवितासङ्ग्रह २०७९ ) विमोचित भएको थियो।
यसमा कविले विषयगत विविधता , छन्दप्रयोगगत अनेकता र शिल्पचेतका कलात्मक बान्कीले मातृभूमिप्पतिको अगाध ममता र प्राकृतिक रमणीयतासहित राजनीति र सांस्कृतिक विसङ्गतिहरूको राम्रो चिरफार गरेका छन्।
पिता स्व. काशीनाथ गजुरेलमा समर्पित गरिएको यस कृतिमा ‘ डा. देवी नेपालको ‘कुटिलीकोसा भित्रका परिपक्व दानाहरू’ को समीक्षात्मक शुभकामना मन्तव्य र चन्द्रप्रसाद न्यौपानेको ‘शम्भुप्रसादको कुटुलीकोसा’ टिप्पणीपरक शुभकामना मन्तव्य र कवि शम्भु गजुरेल र कुटुलीकोसालाई शुभकामनाका सुन्दर अभिव्यक्तिले कृतिमा ओज थपिदिएका छन् ।
कृतिमा सङ्ग्रहीत उनासीवटा शीर्षकका कवितामा पञ्चचामर , शिखरिणी , शार्दूलविक्रीडित ,इन्द्रबज्रा ,भुजङ्गप्रयात , अनुष्टुप , उपजाति , मन्दाक्रान्ता , स्रग्विणी , दिक्पाल , तोटक , द्रुतविलम्बित , रुचिरा , चक्रपद , शशिकला , लीलाखेलजस्ता सोह्रवटा पिङ्गल छन्दले सङ्ग्रहलाई सिंगारेका छन्। कविताहरू प्राय सबै पठनीय र मननयोग्य छन् ।
भुजङ्गप्रयात छन्दलाई एक नमुना स्वरूप प्रस्तुत गरेको छु-
म राम्रो म सच्चा म नै राष्ट्रवादी
म जान्ने म सुन्ने म नै कामकाजी
ममा फूल छर्ने बसेको छ बानी
सिमाना धकेल्दा छ आँखा बिरामी ।
– म ( व्यङ्ग्य कविता ), कुटुलीकोसा , पृ. ७५
देशभक्तिले आप्लावित पञ्चचामर छन्दमा संरचित अर्को एक श्लोक-
विदेश जान तम्सिने युवा नचम्क व्यर्थमा
धरा रुँदैछ आतिदै जलेर भित्र हर्तमा
छिमेक दुष्ट स्वार्थमा डुबेर खेल खेल्दछ
मिचेर साँध देशको पहाड आज ठेल्दछ।
-कुटिलीकोसा , अनुरोध , पृ. १११ ।
केशव राज आमोदी
चितवन