गजल भन्ने बितिक्कै मोतीराम भट्टको नाम लिनै पर्ने हुन्छ ।उनले नै गजललाई नेपालमा भित्र्याउने काम गरेका हुन।

उनले भारतमा अध्ययन गर्दा गुरु हरिश्चन्द्र लगायतका साथीहरूले विभिन्न भाषामा गजल लेखेको र वाचन गरेको देखेर गजल लेख्न सिकेका थिए। नेपाल आएपछि यसलाई प्रयोगमा ल्याएका पनि हुन उनले ।मोतीरामका गजलहरू नामक पुस्तक बि. सं. १९३८ प्रकाशन गरेका थिए।

मोतीराम भट्टले बहरमा गजल लेखेर प्रकाशन गरेका थिए। साथीहरू जम्मा गरेर गजल लेख्न सिकाएका थिए मोतीराम भट्टले ।त्यसबेला निकै लोकप्रिय बनेको थियो गजल बिधा ।त्यसपछि धेरै साहित्यकारहरूले गजल लेख्दै र यसको बिकासमा महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ।

गजललाई जुनसुकै भाषामा पनि गजल नै भन्ने गरिन्छ। यसको अहिले सम्म अरू छुट्टै नाम छैन। अचेल कथा, कबिता जस्तै लोकप्रिय बिधा बन्दै गएको छ गजल। साहित्यकारहरू नरदेब पाण्डे, शम्भु प्रसाद ढुङ्गेल, भूपि सेरचन, बालकृष्ण सम, उपेन्द्र बहादुर जिगर, मनु व्राजाकी, ललिजन रावल लगायतले बहरमा गजल लेख्दै आउनु भएको थियो ।पछिल्लो समय ज्ञानुवाकर पौडेललाई नेपाली गजलको पुनर्जागरण रूपमा हेर्ने गरिएको छ। उच्चशिक्षा अध्ययनको शिलशिलामा गजलको बारेमा सोधपत्र नै तयार पारेर गजल बिधामा “विद्यावारिधि” गर्ने नेपालको पहिलो ब्यक्ति डा. घनश्याम न्यौपाने परिश्रमी हुनुहुन्छ।

हाल सम्म धेरै गजलकारहरूका पुस्तकहरू समेत प्रकाशन भएका छन्। गजल भनेको विभिन्न प्रकारका फूलहरूलाई उनेर बनाएको एउटा आकर्षक माला हो जुन फूल एउटै प्रजातीको भए मुसलसल र फरक प्रजातिको भए गैर मुसलसल गजल भन्ने गरिन्छ ।

गजलको पहिलो सेरलाई मतला भनिन्छ एउटा सेरमा दुई लाइन हुनेछ यसलाई मिसरा भनिन्छ।

सेरको पहिलो लाईनलाई ए उला र दोस्रो लाईनलाई ए सानी भनिन्छ ए उलाले बिषयको उठान गर्दछ भने ए सानीले प्रष्ट पार्दै समापन गर्ने काम गर्दछ त्यस्तै गजलमा काफिया, रदिफ सेर र मक्ता रहेका हुन्छन् ।गजलमा काफिया अनिबार्य रहेको छ भने रदिफ अनिबार्य मानिदैन। बहर बिना गजल हुन सक्दैन भने गजलको पहिलो सर्त गायन हो र यसका लागि बहरबद्ध हुनु पर्ने अर्को सर्त पनि हो ।गजल समान्यतया ५ सेरमा लेख्दा राम्रो मानिन्छ गजल बहरबद्ध नै हुनु पर्छ भन्ने मान्यता भित्र रहेर पिता भुवनेश्वर तिमल्सिना र माता बच्चु तिमल्सिनाको गर्भबाट जन्मनु गर्नुभएका साहित्यकार कुमार शर्मा अबिरलले कामको शिलशिलामा बिदेशी भूमिमा रहेको अबस्थामा रचना गरिएका गजलहरू संकलन गरेर भरखरै एउटा नयाँ पुस्तक “आगोको पोखरी” गजल सङ्ग्रह प्रकाशन गर्नु भएको छ कभर बाहेक १४४ पेजको उक्त पुस्तक भित्र जम्मा १११ गोटा बहरबद्ध गजल रहेका छन् उक्त पुस्तकलाई भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको हो । यस पुस्तकको मूल्य रू. २५० कायम गरिएको छ।

यो उहाँको पहिलो पुस्तक पनि हो । पुस्तकको भूमिका डा. घनश्याम न्यौपाने परिश्रमीको रहेको छ भने सुनगाभा साहित्य सदन ललितपुरको एक पेजको प्रकाशकीय भन्दा पछाडिको पेजमा लेखकले गजलसंग बहकिदै आफ्ना मनका कुरा लेखेर गजलहरूको मतलाको ए उलालाई समेटेर ४ पेजको बिषयसूची बनाउदै पेज नम्बर १ बाट गजल लेखनको सुरुवात गर्नु भएको छ। यस पुस्तकभित्र प्रकाशन भएका १११ गोटा गजलहरू सबै मतला, सेर, मिसरा, काफिया, रदिफ लगायतले गर्दा गजलका संरचना भित्र रहेको देखिन्छ भने सेरको हिसाबले पेज नम्बर २१, ८८ र ९४ पेज नम्बरको गजल ६,६ सेरको रहेको छ भने पेज नम्बर ९८ र १०९ मा ७,७ सेर रहेका छन् भने १०६ गोटा गजलहरू ५,५ सेरका रहेका छन् उहाँले नयाँ घनु बहरको गजल पेज नम्बर ३८ मा राख्नु भएको छ भने धरहरालाई नै रदिफ बनाएर लेख्नु भएको धरहरा विशेष गजल पेज नम्बर ७० मा राख्नु भएको छ।

मतला: गजलको पहिलो सेरलाई मतला भनिन्छ। पहिलो लाइनलाई ए उला र दोस्रो लाइनलाई ए सानी भनिन्छ। उला र सानीको समन्वयले मतला आकर्षक बनाउने गरिन्छ। सबै सेरहरूमा उला र सानीको सम्बन्ध, क्रिया र कर्ता साथै ब्याकरण सुध्दता अनिबार्य तत्व हो। यस बारेमा लेखकले निकै होशियारपूर्वक कलम चलाएको देखिन्छ। उहाँले मुरद्फ र गैरमुरद्फ दुबैथरी मतलालाई सुन्दर र आकर्षक बनाउने कोशिश गर्नु भएको छ।

मक्ता: गजलको अन्तिम सेरलाई मक्ता भनिन्छ यदि लेखकले अन्तिम सेरमा आफ्नो नाम समाबेश गरेमा तखुल्लस भनिन्छ। तखुल्लसको प्रयोग लेखकले आफ्नो परिचय दिनको लागि गर्ने चलन रहेको छ। यस पुस्तक भित्र भएको ८१ पेजको गजलको अन्तिम सेरमा लेखकले आफ्नो नाम राखेर मक्ता वा अन्तिम सेर तयार पार्नु भएको देखिन्छ ।

काफिया: रदिफको ठिक अगाडिको अनुप्रासिस चल शब्द नै काफिया हो जसले सुन्दर मतला बनाउन सहयोग गर्दछ। काफिया गजलको अनिबार्य तत्व हो । बिना काफिया गजल बन्न सक्दैन। काफियाहरू पूर्णशब्द, शब्दांश, मिलित, एकाक्षरी र मिश्रित समेत पाँच प्रकारका काफियालाई बिबेकपुर्ण तरिकाले प्रयोग गरेका कारणले यस पुस्तकभित्र रहेका गजलहरू सुन्दर र प्रभाबकारी हुन पुगेका छन्।

रदिफ: रदिफ गजलमा अनिबार्य होइन ता पनि काफियापछि आउने वाक्य वा शब्दलाई रदिफ भनिन्छ। यसले गजललाई गायन योग्य अर्थात लयात्मक बनाउँदछ। यस पुस्तकमा झण्डै ४० गोटा गजलहरू रदिफ बिना तयार पारिएका छन् बाकी गजलहरू रदिफ सहितका रहेका छन् ।बहरमा मात्रा चढावट,गिरावट र मिलावटलाई न्यायसंगत रूपमा उचित प्रयोग गर्दै लय विधानमा रहेर कुमार शर्मा अविरलले गजल प्रस्तुत गर्ने भरपुर कोशिश गर्नुभएको देखिन्छ।

अर्कान: बहर भनेको छन्द नै हो जसले रचनालाई वाचन वा गायनलाई सहज बनाउने काम गर्छ । छन्दमा कठोरता छ भने बहरमा केही निशिचित तोकिएका लचकताहरू छन् । छन्दमा लघु अर्थात रस्वलाई (I) र गुरु अर्थात दिर्घलाई (S) संकेत गरिन्छ भने गजलमा लघुलाई (१) र गुरूलाई (२) ले संकेत गर्ने प्रचलन रहेको छ । उहाँले रचना गर्नु भएक‍ो गजलहरूमा अर्कान भङ्ग भएको देखिदैन। गायनमा असर नपर्ने गरि लचकताको प्रयोग भने भरपुर मात्रामा गरेको देखिन्छ।

मात्रागिरावट मात्रामिलावट र मात्रा चढावट: नेपालीमा आ, ई,ऊ,ए र ओ लाई बहर मिलाउदा रस्व मानेर प्रयोग गर्नु भनेको नै मात्रा गरिरावट हो भने दुई लघु बर्णलाई एउटा गुरु बनाउने नियम नै मात्रा मिलावटको नियम हो। कुमारका धेरै गजलहरूमा मात्रा मिलावट भएको देखिन्छन।

मात्रा चढावट भन्नाले अ, इ,उ र ऋ बर्णलाई दिर्घ वर्ण मानेर गजलमा प्रयोग गर्नु भनेको नै मात्रा चढावट हो । बहरमा गजल लेख्दा गायनमा असर नपर्ने गरि मात्रागिरावट, मात्रामिलावट र मात्रा चढावटको नियमलाई कुशलतापुर्बक पालन गरेर गजल लेख्नु भएको छ कुमार शर्मा अविरलले ।यसै सुबिधाले गर्दा छन्दका केही कठोर नियमबाट भने बहरहरू मुक्त देखिन्छन् ।कुमार
प्रकाशित पुस्तक भित्र बिबिध भावमा गजलहरू तयार गरिएका छन् । जस्तै देशभक्ति निराशा, प्रगतिशील , परिवर्तनकारी, व्यङ्ग्य, प्रणयभाब, भ्रष्टाचारको विरोध, महिला ससक्तिकरण, प्रेम, बिझोड विदेशमा रहदाका अनुभब लगायतका बिषयहरू समेटेर गजल तयार पारेर प्रकाशन गर्नु भएको छ। सबै सेरहरू दमदार बनाउने प्रयास गर्नु भएको छ उहाँले ।निरन्तर साधनाको उपज नै यो गजल सङ्ग्रह हो। एउटा पूर्ण गजल हुनका लागि रदीफ, काफिया, मिजाजयुक्त शेर ,बहर,भाषागत शुद्धता, रस,अलङ्कार जस्ता वस्तुको आवश्यकता पर्दछ भन्ने कुरा कुमार शर्मा अविरलले नजिकबाट नियाल्नुभएको छ भन्ने कुरा गजल पढ्दैजाँदा एक्किन गर्न पनि सकिन्छ ।

धेरै प्रकारका स्वादका भाबहरू यस गजल सङ्ग्रहको पुस्तकभित्रका पाइने हुँदा कयौँ गजलहरूले पाठकहरूको मन छुन पनि सक्छ। यो पहिलो बहर कृति समेत भएको हुँदा विभिन्न खाले दोष र केही कमीकमजोरीहरू गजलमा पक्कै पनि भेटाउन सकिन्छ ता पनि साधना र निरन्तर अभ्यासले आफुलाई दोष रहित बनाउन सकिन्छ। भविष्यमा धारिलो हतियार भएर तपाँईको कलम अगाडि बढिरहन सकोस् भन्ने शुभकामना दिदै अर्को किर्तिको कामना गर्दै बिदा लिन्छु। धन्यबाद । जय साहित्य ।।

ध्रुबप्रसाद गजुरेल
तारकेश्वर नगरपालिका ३ काठमाडौ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय