परिवेशका सुसेली नियाल्दा नेपालमा गजल भित्र्याउने पहिलो ब्यक्ति मोतीराम भट्ट हुन। उनले भारतमा अध्ययन गर्दा आफ्ना साथीहरू र गुरूहरूले विभिन्न भाषामा गजल लेखेको र वाचन गरेको देखेर गजल लेख्न सिकेका थिए।नेपाल आएपछि यसलाई प्रयोगमा ल्याएका पनि हुन।
बि सं. १९३८ देखि नै नेपाली साहित्यमा गजलले प्रबेश पाएको देखिन्छ । मोतीराम भट्टले बहरमा गजल लेखेर प्रकाशन गरेका पनि थिए।
साथीहरू जम्मा गरेर गजल लेख्न सिकाएका थिए मोतीराम भट्टले। त्यसबेला नेपालको दरवारमा गजलकारहरू बोलाएर गजल सुन्ने र सुनाउने परम्परा समेत चलेको थियो। त्यसपछि धेरै साहित्यकारहरूले गजल लेख्दै र यसको बिकासमा महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ।
गजललाई जुनसुकै भाषामा पनि गजल नै भन्ने गरिन्छ। यसको अहिले सम्म अरू छुट्टै नाम छैन। अचेल कथा, कबिता जस्तै लोकप्रिय बिधा बन्दै गएको छ गजल। बेला बेलामा विभिन्न साहित्यकारहरूले गजलका बारेमा विभिन्न आलेखहरू प्रकाशन गर्दै आउनु भएको थियो। नरदेब पाण्डे, शम्भु प्रसाद ढुङ्गेल, भूपि सेरचन, बालकृष्ण सम, उपेन्द्र बहादुर जिगर, मनु व्राजाकी, ललिजन रावल लगायतले बहरमा गजल लेख्दै आउनु भएको थियो। नेपालमा गजल लेखन र बिकासको कार्यमा धेरै साहित्यकारहरूको नाम जोडिन आउँछ।
उच्चशिक्षा अध्ययनको शिलशिलामा गजलको बारेमा सोधपत्र नै तयार पारेर गजल बिधामा “विद्यावारिधि” गर्ने नेपालको पहिलो ब्यक्ति डा. घनश्याम न्यौपाने परिश्रमी हुनुहुन्छ ।उहाँले गजल बहरमा लेख्नु पर्छ भन्दै सिकाउदै र बहस चलाउदै पनि आउनु भएको छ। अन्य धेरै गजलकारहरूका पुस्तकहरू समेत प्रकाशन भएका छन् ।धेरै गजलकारहरूले गजलका बारेमा व्याख्या र विश्लेषण पनि गर्दै आउनुभएको छ। अहिले गजल लोकप्रिय बिधाको रूपमा बिकास हुँदै गएको छ।
गजल भनेको विभिन्न प्रकारका फूलहरू उनेर बनाएको एउटा माला हो जुन फूल एउटै प्रजातीको भए मुसलसल र फरक प्रजातिको भए गैर मुसलसल गजल भनिन्छ।
जहाँ उला, सानी, मतला, काफिया, रदिफ सेर र मक्ता रहेका हुन्छन्। गजलमा काफिया अनिबार्य रहेको छ भने रदिफ अनिबार्य मानिदैन। बहर बिना गजल हुन सक्दैन भने गजलको पहिलो सर्त गायन हो र यसका लागि बहरबद्ध हुनु पर्ने अर्को सर्त पनि हो भन्ने कुरालाई ध्यानमा राखेर धेरै साहित्यकारहरूले गजल लेखिरहनु भएको छ।
गजल बहरबद्ध नै हुनु पर्छ भन्ने मान्यता भित्र रहेर पिता दिननाथ गुरागाई र माता धनमाया गुरागाईको गर्भबाट जन्मनु भै स्नाकोत्तर सम्म अध्ययन गर्नुभएकी साहित्यकार जानुका गुरागाईले भरखरै एउटा नयाँ पुस्तक परिबवेशका सुसेली गजल सङ्ग्रह प्रकाशन गर्नु भएको छ १३९ पेजको उक्त पुस्तक भित्र जम्मा १०० गोटा बहरबद्ध गजल रहेका छन् उक्त पुस्तकलाई सम्पूर्ण किताब प्रकाशनले बजारमा ल्याएको हो । यस पुस्तकको मूल्य रू. ३०० कायम गरिएको छ । यो उहाँको पहिलो पुस्तक पनि हो।
पुस्तकको भूमिका डा. घनश्याम न्यौपाने परिश्रमीको रहेको छ भने परिबेशका सुसेली गन्गुनाउदाको अनुभूति हरिप्रसाद पौडेल `स्वर्णशिखा´, मिलन कुमार ढुङ्गानाको २ पृष्ठ को `अजरामर प्रस्थान´ भन्दा पछिल्लो पेजमा लेखकले `रचनागर्भभित्र रूमलिदा´ आफ्ना मनका कुरा लेखेर पेज नम्बर ३७ बाट गजल लेखनको सुरुवात गर्नु भएको छ।
यस पुस्तकभित्र प्रकाशन भएका सय गोटा गजलहरू सबै मतला, सेर, मिसरा, काफिया, रदिफ लगायतले गर्दा गजलका संरचना भित्र रहेको देखिन्छ भने सेरको हिसाबले पेज नम्बर ११२ मा रहेको ७६ नम्बरको गजल ६ सेरको रहेको छ भने पेज नम्बर ८२ र ७७ मा ७,७ सेर रहेका छन् भने ९७ गोटा गजलहरू ५,५ सेरका रहेका छन् ।
मतला: गजलको पहिलो सेरलाई मतला भनिन्छ । पहिलो लाइनलाई ए उला र दोस्रो लाइनलाई ए सानी भनिन्छ । उला र सानीको समन्वयले मतला आकर्षक बनाउने गरिन्छ। सबै सेरहरूमा उला र सानीको सम्बन्ध, क्रिया र कर्ता साथै ब्याकरण सुध्दता अनिबार्य तत्व हो। यस बारेमा लेखकले निकै होशियारपूर्वक कलम चलाएको देखिन्छ। उहाँले मुरद्फ र गैरमुरद्फ दुबैथरी मतलालाई सुन्दर र आकर्षक बनाउने कोशिश गर्नु भएको छ।
मक्ता: गजलको अन्तिम सेरलाई मक्ता भनिन्छ यदि लेखकले अन्तिम सेरमा आफ्नो नाम समाबेश गरेमा तखुल्लस भनिन्छ।
तखुल्लसको प्रयोग लेखकले आफ्नो परिचय दिनको लागि गर्ने चलन रहेको छ। यस पुस्तक भित्र भएका कुनै पनि गजलको अन्तिम सेरमा लेखकले आफ्नो नाम नराखी मक्ता वा अन्तिम सेर तयार पार्नु भएको देखिन्छ।
काफिया: रदिफको ठिक अगाडिको अनुप्रासिस चल शब्द नै काफिया हो जसले सुन्दर मतला बनाउन सहयोग गर्दछ। काफिया गजलको अनिबार्य तत्व हो। बिना काफिया गजल बन्न सक्दैन। काफियाहरू पूर्णशब्द, शब्दांश, मिलित, एकाक्षरी र मिश्रित समेत पाँच प्रकारका काफियालाई बिबेकपुर्ण तरिकाले प्रयोग गरेका कारणले यस पुस्तकभित्र रहेका गजलहरू सुन्दर र प्रभाबकारी हुन पुगेका छन्।
रदिफ: रदिफ गजलमा अनिबार्य होइन ता पनि काफियापछि आउने वाक्य वा शब्दलाई रदिफ भनिन्छ। यसले गजललाई गायन योग्य अर्थात लयात्मक बनाउँदछ । यस पुस्तकमा ८१ गोटा गजलहरू रदिफ सहितका र १९ गोटा गजलहरू रदिफ बिना तयार पारिएका छन् बहरमा मात्रा चढावट,गिरावट र मिलावटलाई न्यायसंगत रूपमा उचित प्रयोग गर्दै लय विधानमा रहेर जानुका गुरागाईले गजल प्रस्तुत गर्ने भरपुर कोशिश गर्नुभएको छ ।
अर्कान अर्थात संकेत: बहर भनेको छन्द नै हो जसले रचनालाई वाचन वा गायनलाई सहज बनाउने काम गर्छ।
छन्दमा कठोरता छ भने बहरमा केही निशिचित तोकिएका लचकताहरू छन्। छन्दमा लघु अर्थात रस्वलाई (I) र गुरु अर्थात दिर्घलाई (S) संकेत गरिन्छ भने गजलमा लघुलाई (१) र गुरूलाई (२) ले संकेत गर्ने प्रचलन रहेको छ। उहाँले रचना गर्नु भएको गजलहरूमा अर्कान भङ्ग भएको देखिदैन। गायनमा असर नपर्ने गरि लचकताको प्रयोग भने भरपुर मात्रामा गरेको देखिन्छ।
उहाँले प्रयोग गर्नु भएको बहरहरू जम्मा ३९ रहेका छन् भने कुनै, कुनै बहरमा एउटा, एउटा मात्र र मुतकारिब मुसम्मन सालिममा उहाँले १९ वटा सम्म गजल लेख्नु भएको देखिन्छ ।
उहाँले प्रयोग गर्नु भएको बहर र संख्याहरू यस प्रकार रहेका छन् ।
मिर बहर (१६,१८,२४ र २६) मात्रामा १२
मुतकारिब मुसम्मन सालिम १९
मुजारे मुसम्मन अखरब १४
रमल मुसद्दस महजूफ २
मुतदारीक मज़्बुब १
हजज मुसद्दस सालिम ५
कलिब १
मुतकारिब मुसम्मन अश्लम ३
मुतकारिब मुसम्मन महजूफ ३
मुन्सरेह सुमम्मन मुतब्बी मन्हुर १
कामिल मुसद्दस सालिम २
हजज मुसद्दस महजूफ ५
मुतकारिब दुहुम सालिन २
मुतकारिब मुसद्दस सालिम १
मुतकारिब मुसम्मन मक्बूज अश्लम १
खफिफ ५
अशम मक्बूज अबतर १
बसीत ३
मुतदारीक मुसम्मन सालिम १
मुजारे मुसम्मन अखरब मक्तुअ १
मुजारे मुसम्मन १
रमल मुसम्मन महजुफ १
रजज मुसम्मन सालिम१
कुरैशी १
जमील मुसद्दस सालिम १
सगीर अहज १
नदील अवतर १
सरीम १
तबील १
हजज मुसद्दस मक्बूज २
रजज मुसम्मन अहज १
रमल मुसम्मन मखबुन मुसक्कन १
रजज मुसम्मन सालिम २
रमल मुसम्मन अवतर २
मजास मुश्ईश १
समेत गरेर जम्मा ३९ वटा शास्त्रीय बहरको विधानमा रहेर जानुका गुरागाईले बहरबद्ध गजल सङ्ग्रहमा १०० वटा गजलहरू पस्किनुभएको छ
मात्रागिरावट मात्रामिलावट र मात्रा चढावट: बहरमा गजल लेख्दा गायनमा असर नपर्ने गरि मात्रागिरावट, मात्रामिलावट र मात्रा चढावटको नियमलाई कुशलतापुर्बक पालन गरेर गजल लेख्नु भएको छ उहाँले।
नेपालीमा आ, ई,ऊ,ए र ओ लाई बहर मिलाउदा रस्व मानेर प्रयोग गर्नु भनेको नै मात्रा गरिरावट हो भने दुई लघु बर्णलाई एउटा गुरु बनाउने नियम नै मात्रा मिलावटको नियम हो उहाँका धेरै गजलहरूमा मात्रा मिलावट भएको देखिन्छन। त्यस्तै मात्रा चढावट भन्नाले अ, इ,उ र ऋ बर्णलाई दिर्घ वर्ण मानेर गजलमा प्रयोग गर्नु भनेको नै मात्रा चढावट हो। छन्दका केही कठोर नियमबाट भने बहरहरू मुक्त देखिन्छन्। यस्तो खालको उदारता ग्रिसेली मिटरबाट ग्रहण गरेको देखिन्छ।
प्रकाशित पुस्तकका गजलहरूमा जानुका गुरागाईले आबस्यकता अनुसार मात्रागिरावट, मात्रामिलावट र मात्रा चढावट प्रयोग गर्नु भएको छ ।प्रकाशित पुस्तक भित्र बिबिध भावमा गजलहरू तयार गरिएका छन्।
जस्तै प्रगतिबादी, परिवर्तनकारी, व्यङ्ग्य, प्रणयभाब, देशभक्ति निराशा, भ्रष्टाचारको विरोध, इच्छाबोध, महिला ससक्तिकरण, प्रेम लगायतका बिषयहरू समेटेर गजल तयार पारेर प्रकाशन गर्नु भएको छ । सबै सेरहरू दमदार बनाउने प्रयास गर्नु भएको छ उहाँले।
निरन्तर साधनाको उपज नै यो गजल सङ्ग्रह हो। एउटा पूर्ण गजल हुनका लागि रदीफ, काफिया, मिजाजयुक्त शेर ,बहर,भाषागत शुद्धता, रस,अलङ्कार जस्ता वस्तुको आवश्यकता पर्दछ भन्ने कुरा जानुका गुरागाईले नजिकबाट नियाल्नुभएको छ भन्ने कुरा गजल पढ्दैजाँदा एक्किन गर्न पनि सकिन्छ।
सम्पूर्ण प्रकारका स्वादका भाबहरू यस पुस्तकभित्रका गजलहरूमा पाइने हुँदा कयौँ गजलहरूले पाठकहरूको मन छुन पनि सक्छ। गजल साधकको रूपमा आफूलाई प्रस्तुत गर्दा र पहिलो बहर कृति समेत भएको हुँदा विभिन्न खाले दोष र केही कमीकमजोरीहरू गजलमा पक्कै पनि भेटाउन सकिन्छ ता पनि साधना र निरन्तर अभ्यासले दोष रहित बनाउन सकिन्छ।
भविष्यमा धारिलो हतियार भएर तपाँईको कलम अगाडि बढिरहन सकोस् भन्ने शुभकामना दिदै अर्को किर्तिको कामना गर्दै बिदा लिन्छु।
धन्यबाद ।
जय साहित्य ।
ध्रुबप्रसाद गजुरेल
तारकेश्वर नगरपालिका ३ काठमाडौ