
भाइ हामी आतंककारीको छोरा होइनौं।
कान्छा,
आज तिमी पनि
बाह्र बर्ष भयौ।
हेर त कति आकर्षक बुटा कुदिएको ढोका ,
तर,
आधा मात्र कुदिएको छ।
बाह्र बर्ष पहिले
हाम्रो घरमा पनि यस्तै बुटा कुदिएको थियो।
समयको लर्कोले,
फलामको रामो( बटारी) समाउने हातलाइ
बन्दुकको नाल समाउने बनायो।
त्यस पछि हाम्रो घरको पनि रंगिन बुटा हराए।
कान्छू,
सबैको ढोकामा मुस्कुराएको बुटा कुद्ने घरमा,
आज हाम्री आमाको
मुस्कान हराएको छ ।
सबैको ढोका सजाउन रातो रङ दल्ने घरमा ,
पत्नीको रातो सजावट हराएको छ।
ढोका बेचेको दिन,
आमालाइ घामले नपोलोस,
झरिले नभिजोस भनी,
नया छाता ल्याइदिनु भएको थियो।
छाता ओड्न नपाउदै
हरेक दिन आमाको छाती पोलिरह्यो।
परेली भिजिरह्यो।
हजुरबुबाले भन्नुभएको थियोे ।
सिकाइ सधै काम लाग्छ।
हो रहेछ ,
त्यति बेला सिकेका अंकहरुले,
आज बुबालाई देख्न नपएको दिन, घन्टा , मिनेट … गन्न सजिलो भएको छ।
बाबू,
समयसंगै सम्झौता भए।
चुनावी लहर आयो।
भुडी बढेको, मिलाएर जुँगा काटेको, रंगिन मान्छे,
आएर आमालाइ भन्यो,
हजुरको वर फिर्ता ल्याउने छौ।
हामिलाइ भोट दिनुस।
हाम्री आमा जस्तै हजारौं आमाको भोटले होला सायद ,
रंगिन जुगावाला प्रधानमन्त्री बन्यो
र हाम्रो झ्यारझ्यारे टिभी मा पनि आयो।
आमाको आँखा जुँगाको मुन्तिर ओठमा रहिरह्यो,
न त टिभि भित्रको ओठले बोल्यो,
न त आमाको आसुको धाराले टालिएको
ओठ बोल्न सके।
हेर न बाबू,
हाम्रो प्रश्नलाई बेचेर खाइरहे
उत्तरलाइ किनेर खाइरहे।
हाम्रो घरको मुल ढोकाको रंगिन बुटा मेटाएर
सादा बुटा छोप्न,
बर्षिक बाह्र हजार छात्रवृत्तिले टाल्दै छ।
अभावको खडेरी मेटाउन
सौलियतको औसे छम्कदै छन।
हामीलाई अझै आश छ,
कुनै बिहान
हावासँगै बुबाको औंलाले
बाकी मुल ढोकाको बुटा कुद्ने छन।
किनकी
बुबाको सास नपाएनी,
बुटा भरिदिनेको आश
अझै मरेको छैन।
✍️:प्रमोद सापकोटा