धुवाँ र धुलोले वायुमण्डल ढाकिएको छ
आगोका लप्काले वनजंगल रापिएको छ
सुर्यले ज्योति छर्न नपाएको हप्तौं भयो
चराचुरुङ्गीले बासस्थान गुमाएको महिनौं भयो।

महोदय,

अरुले देखे भन्दा पर
कसैले महशुस नगरेको
मेरो मनको सानो शहर अन्धकार छ ।
बगालसंग छुट्टिएको बर्षौं भयो
तातो र चिसोको अनुभुति बिना नै
बचेराले चारा निले जसरी
निल्दैछु पिडाहरुलाई ।
भतभती पोलेर
भित्र भित्रै जल्दैछ मुटुहरु।
दिनहुुँ फुट्छन आँशुका फोहोराहरु
छुट्छन आँखाबाट बलिन्द्र धारा
निल्छु घुटुघुटु
अनि,
ङिच्च हाँसेर देखाईदिन्छु दुनियाँलाई खुशीहरु ।

पसिना बेचेर धान किने
रगत बेचेर शान किने
आँसु बेचेर मान किने
मिहेनत बेचेर सम्मान किने ।
महोदय
स्वार्थी संसारमा टिकेन
फ्याँकिए रद्दी टोकरिमा
मेरा इज्जतहरु बिकेन ।

थाहा छ महोदय ?
बर्शौं भयो मैले मुस्कुराउन छाडेको
महिनौं भयो मैले फेसबुकमा लेख्न छाडेको
कस्का लागि के लेख्नु ?
अभावले कंगाल भएपछि
सड्दैछन मेरा बिचारहरु
गल्दैछन मेरा भावनाहरु
ढल्दैछन मेरा रहरहरु
निभ्दैछन मेरा सपनाहरू ।

एकचिम्टी खुशी
एकपसर हाँसो
एक फ्वाँक बोली र
एक झिल्को आगो
कसैले पैंचो दिनुस न है मलाई ।
महोदय
सल्काउनु छ आशाको दियो
डढाउनु छ निराशा
अनि
ठड्याउनु छ भरोसाको मियो ।

रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ -५ सामरी, नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय