रुद्राक्ष बारे केही लेखिरहन,भनिरहन पर्छ जस्तै लागेन ।तर धेरै शेरहरू मनमा रहे ।मनलाई चिमोट्न ,कोपर्न , मनमा बस्न सफल भए। दिलमा घाउ बनाउँदै घाउहरू निको पार्ने मल्हम बनेर आए। फेरि फेरि यही रुद्राक्ष भित्र मैले मेरो मनलाई एकीकृत गर्ने कोसिस गरेँ।

“साधनाका कोखबाट रुद्राक्ष जन्मिन्छन्।

आफ्नो विगत भुलेछन् हीरा हुनेहरुले
अब कोइला कुनै दिन उत्पात चम्किनेछन्।

मोरङबाट डा. छवि वैरागी घिमिरेज्यूले शेर लेखेर शेरमै रमाउँदै शुभकामना दिनुभएको छ I आफैमा अब्बल अद्भुत मानिने आदरणीय अग्रज साहित्यकार शिव शर्मा दाइले कृति भित्र के के छन् ,के के छैनन् खुलेरै लेख्नुभएको छ। के लेख्नुभएको छ, त्यो पढ्ने जिम्मा मैले रुद्राक्षका पाठकलाई सुम्पिएँ।

“नपसाङ्गिएका कुरा “

गजलकारका सिधा, बाङ्गा-टिङ्गा कुराभित्र म पनि छु। यसरी रहन पाउँदा खुशी नहुने कुरै भएन। म कसरी खुशी भएँ भन्ने कुरा फेरि पाठक आफैले खोज्नेछन् ; अनि मनन गर्नेछन् ।यही विश्वासका साथ मैले पहिलो गजलमा नजर डुलाएँ।

मैले सङ्ग्रहका अन्तरकुन्तर भित्र पस्ने रहर मात्रै गरेकी छु। रुद्राक्ष हातमा राखेर गजल पढ्दा कौलुहलता, प्रेम ,समर्पण ,धोका, माया आँखा भित्र नाचिरहे ।पाठक बनेर नियाल्दै गर्दा शीर्ष गजलकै यो शेरले प्रश्न गर्यो । परन्तु ,उत्तर पनि यही शेरले खोजेर आँखा अगाडि राखिदियो।

नाफा कमाउनेले थप फाइदा लिनेछन्
मेरा यी आँसु झर्दा रुद्राक्ष उम्रिनेछन्।

आँखाका आँसु लुकाएर गजल लेख्ने गजलकार धेरै होलान्। यद्यपि ,गजलकारका आँसुका बिम्व स्वयं गजल बनेर पोखिन्छन्।
मैले उहाँलाई पनि सम्झिएँ? व्याख्या गर्नुपर्दैन मैले ।शेर पढ्ने सबैले आ-आफ्ना बुझाइका आधारमा बुझ्नुहुने नै छ। सायद सत्य बोल्यो यो गजलको शेरले कमजोर हुँदा कमजोर भएको देख्ने मान्छे आफैलाई थाहा हुन्न कमजोर सोच मात्रै हो भन्ने अभिव्यक्ति बोकेको यो शेर आफैमा अब्बल छ।मैले यति मात्रै मनमा राखेँ।

गजलकारको बारेमा लेखिरहनु पर्ला र ? भन्ने मनले चर्को प्रश्न गर्यो र उत्तर पनि मनले दियो ; ´अरे ! म त फगत पाठक न हुँ !यद्यपि, लेख्नुपर्छ भन्ने सोचेर मनमा बसेका शेर र गजलहरू स्वचालित् रूपमा दोहोर्‍याई तेहर्‍याई पढेको पत्तै भएन । जुन पढ्यो त्यसले मन छुन्छ ।अहो !यस्तो होस् साधना भन्ने गम्दै गजलमै अल्झिएँ !

पहिलो गजलको एक शेर मेरो रोजाईको यस्तो छ:

न देखिन्छ ईश्वर न भेटिन्छ ईश्वर कतै
कसैको भरोसा गरेको धरोधर्म हो !!

झट्ट पर्खेर बसेको मान्छे सम्झायो मलाई ।मैले फेरि गजलकार सम्झिएँ।उही लेखिरहेको कलम सम्झिएँ।
हो म दोस्रो तेस्रो चौथो पाँचौं क्रमशः गजल पढ्दै गएँ । सब गजल उस्तै उखुझैँ मिठा लागे।

तेस्रो गजलको मलाई मन परेको शेर :

नजिक बस्ने बहानामा नआऊ जिस्किँदै भन्थिन्
नियम केही त उलङ्घन् हुनेगर्थ्यो कुनैबेला!!

मनमै एकछिन् भुइँचालो ल्याइदियो। सिङ्गै गजलले उसकै समीपमा बसेको जस्तै अनुभूति गरायो। शेरको मात्रै के कुरा भयो र…

मैले गजलकारलाई सफल गजलकार भन्नुपर्छ र ? यस्ता धेरै गजल भेटेँ केलाउँदै जाँदा।अहो ! कति लेख्नु र बिचरा म सामान्य पाठकले। सबै लेख्न सक्दिन। केही नबोली गजलमै हराएँ ।

गजल भित्र डुब्दै गर्दा यो शेर मैले यता लेखें:

उनको सिँउदो भरियो प्रेम कथाको अन्त्य भयो
म फेरि पूर्णविराम पछाडि कमा खोजिरहेछु।

यो शेर बोल्छ ,गजल भित्र भएका शेर बोल्छन् ,मैले बोल्न पर्छ जस्तो लागेन ,जिम्मा म जस्तै पाठकलाई।

गजलको नराम्रो पक्ष के छ ,म केलाउन सक्दिनँ। कमजोरी के के छन् देखाउन म सक्षम छैन। यो केलाउने, के सुधार गर्ने ,के सल्लाह दिने जिम्मा मैले अग्रज गजलकार एवं धुरन्धर समीक्षकहरुलाई सुम्पिएकी छु। म त मन परेका गजल त्यसभित्र पनि मन परेका शेर मात्रै उधिनेर केही कुरा साझा गर्दैछु।

क्रमशः
तिम्रो पो कलेजो फोक्सो दुईओटा होला है
यो धड्किँदै गरेको मुटु जहिल्यै एक्लै त हो नि!

हृदयमा प्रेमको चाहत पुरानै हो
मलाई यो नशा लत पुरानै हो !!

यो भुल्न नसक्ने विगतको एउटा कथा हो
प्रेम थियोे त्याग थियो म मदन हुँ ऊ मुना हो !!

तिमी त भवँरा झैँ फूल,बास्ना मन पराउँछ्यौ
मलाई त तिम्रो पसिनाको गन्ध नि अत्तर लाग्छ !!

श्वास जस्तै बन्न आए, प्राण जस्तै बन्न पाए
तिम्रो जीवन मेरा लागि मेरो जीवन तिम्रा लागि !!

मैले उपहार दिएको स्वीटर खै
घाँटीको गलबन्दी कसको होला¡¡

डस्नेलाई यसरी दिलभित्र सजाए हुन्थ्यो
ढोकाको माथि नागको फोटो टाँसे हुन्थ्यो ¡¡

यी त सब भन्ने कुरा मात्रै हुन्
कसका लागि ज्यान कसले दिन्छ ¡¡

उही चिज जस्तो उस्तै चिज कहाँ हुन्छ
विभूत भिन्नै खरानी भिन्न खाले हो ¡¡

हावाविना भकुण्डो उफ्रिन्न बुझ्न सक्छौ
बिलकुल हुनेछु जिउँदो-मुर्दा तिमीविनाको ¡¡

ढुकुरका जोडी जस्तै जोडी देखिन्छन्
रहरको पिंजडामा पंछी एक्लै हो ।

निकाले झैं गर्‍यौ मनदेखि के सक्थ्यौ
प्रिया ,नङमासुको सङ्गत पुरानै हो ¡¡

उत्रिने सोचमा डुब्यो बाल्टिन
क्या गजबको इनारको जादू ¡¡

कलाकार चकटी बनाएर छाड्छन्
नजान्नेले भन्दैछ खोस्टा रहेछ¡¡

धेरै चाहिन्न पतन हुन एक भुल काफी छ
लङ्का सखाप हुन बाँदरको हुल काफी छ¡¡

अँचेट्न घचेट्न तयार हुन्छन् नजिक बसेका
जीवनको शिल्प सिकाउन त तरुल काफी छ¡¡

शत्रुलाई कमिज जस्तै बनाऊँ म
हात मेरो हुँदा उसको कठालो होस् ¡¡

ढुक्कले हिंड्छ चिम्लिँदै आँखा
मार्गदर्शन गरेछ ठक्करले ¡¡

रहर थुन्न मनको ठुलै पिंजडा छ
म कैदी हुँ एउटा र अर्को सुगा छ¡¡

बोट माथि कपास खुल्दै थियो
मन्द मन्द बतास बढ्दैछ¡¡

सियो दुश्मन भएको हो हिजो त्यो नाकमा घोच्दा
फुलीको साथ जब पायो पुरानो दुश्मनी सकियो ¡¡

बनायो जिन्दगीले कर्मचारी झैं
तलब मासिक समस्या चाहिँ दैनिक छ¡¡

नमानौ न केही धक म पागल तिमी पागल
केही पल गरौं चकचक म पागल तिमी पागल¡¡
लेख्दै जाँदा सिङ्गो गजल संग्रह भित्रका सबै गजल नै लेख्न मन लाग्ने गजल संग्रह “रुद्राक्ष “ले मीठो गरी मन नमिठो संग लुट्यो । मन लुट्ने शेर लेख्ने गजलकार बन्न सक्नु नै मेरा नजरमा सफल गजलकार हुनु हो।
फेरि पनि रुद्राक्ष जन्माउने रुद्राक्षका मालिकलाई शुभकामना छ ,बधाई छ।

भन्नै पर्ने आफ्नै कुरा,
तपाईंको काँधमा अर्को जिम्मेवारी थपिएको छ ।हामी यस्तै अर्को गजल संग्रहको प्रतीक्षामा रहनेछौँ।

सप्रेम सम्झना
रोमा लम्साल “नुरा”
सप्तरी हाल काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x