नुवाकोट /
विगतमा पनि सत्ता स्वार्थले राजनीतिक दल विभाजित हुँदै आएका उदाहरणहरु प्रसस्तै भेटिन्छन्। यसपटक पनि को मन्त्री बन्ने या नबन्ने भन्ने सन्दर्भमा राजनीतिक दल विभाजित हुने खतरा बढ्दै गएको देखिन्छ ।
बिहीबार निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको अन्तिम नतिजा बुझाएसँगै पुस २८ गते अर्थात ३० दिनभित्र दुई वा दुईभन्दा बढी दलको संयुक्त सरकार गठन गरिसक्नु पर्ने समयसीमा तय भएको छ । सोही अनुरूप दलहरूले सरकार गठनको तयारी थालेका छन् ।
सरकार गठनको खेल सुरु भएसँगै साना दलमा विवादसमेत सुरु भएको छ। सरकारमा जाने र नजाने पक्षबीच विवाद बढ्दा दलहरू विभाजन नै हुनसक्ने खतरा बढेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)मा सरकारमा सहभागी हुने वा नहुने भन्ने दुई पक्षीय मत रहेको छ ।
रास्वपाले सरकारमा सहभागी हुने या नहुने भन्ने सन्दर्भमा आधिकारिक निर्णय त गरिसकेको छैन। तर, अध्यक्ष रवि लामिछानेले सहभागी हुने इच्छा जाहेर गरेका छन् ।यसअघि नै आफ्नो पार्टी सरकारमा सहभागी हुनसक्ने बताएका थिए ।
अध्यक्ष लामिछानेसहित रास्वपाका केही सांसद वर्तमान सत्ता गठबन्धनको सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहँदै आएका छन् ।नागरिकता समस्याले अप्ठ्यारोमा पर्ने बुझिसकेका अध्यक्ष लामिछाने सरकारमा सहभागी भएर सुरक्षित हुन खोजिरहेका छन् ।
अध्यक्ष सरकारमा सहभागी हुन खोजे पनि अन्य सांसद भने अहिलेको जनमत सरकारमा जाने नभएकाले सरकार बाहिरै बसेर जनताको काम गर्नुपर्ने पक्षमा छन् ।
नयाँ सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयले राप्रपामा पनि दुई धार देखिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीले पाएको जनमत सरकारमा जाने मत नरहेको भन्दै आएका छन् तर अधिकांश सांसद भने सरकारमा जाने मन्त्री बन्ने पक्षमा रहेका छन् ।
निरन्तर सत्तामा रहँदै आएका दीपक बोहरा, लामो समयको प्रयासपछि संसद पुगेका विक्रम पाण्डे र ध्रुबबहादुर प्रधानहरू भने सरकारमा सहभागी भएर मन्त्री भैहाल्ने पक्षमा छन् ।
सरकारमा सहभागी हुने सन्दर्भमा जसपामा विवाद छैन ।तर, कुन गठबन्धनको सरकारमा सहभागी हुने भन्ने सन्दर्भमा विवाद देखिएको छ।
निर्वाचनमा एमालेले धोका दिएपछि अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रुपमा एमालेसँगको सम्बन्ध सकिएको घोषणा गरेका थिए ।तर, संघीय परिषद अध्यक्ष अशोक राईले भने अध्यक्षको धारणा पार्टीको धारणा नरहेको भन्दै खण्डन गरेका थिए ।
यादव र राईको धारणा जसपाभित्रको पछिल्लो लाइनको धारणा हो। यादव वर्तमान सत्ता गठबन्धनसँगै सहकार्य गर्न चाहन्छन् भने राई एमालेसँग नजिक हुँदै गएका छन् ।
सरकारमा सहभागी हुने सन्दर्भमा यादव समूह वर्तमान सत्ता गठबन्धनले बनाउने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छ भने राई समूह एमालेसँग मिल्नुपर्ने पक्षमा रहेको छ ।
विवादले विभाजन निम्त्याउने खतरा
सरकारमा सहभागी हुने या नहुने भन्ने विषयले साना राजनीतिक दल विभाजित हुने खतरा बढेको छ। कुनै पनि दलले यस विषयमा स्पष्ट धारणा बनाउन सकेका छैनन् ।
सबै साना दलमा सरकारमा सहभागी हुने र मन्त्री बन्ने चाहना राख्नेको संख्या धेरै छ। यस्तो अवस्थामा पार्टी सरकारमा सहभागी नहुने अवस्थामा आए विभाजन गरेरै भए पनि मन्त्री बन्न चाहनेहरु हाबी भएको खण्डमा दलहरु विभाजित हुने खतरा रहन्छ ।
विगतमा मधेसी दलहरु सरकारमा सहभागी हुनकै लागि विभाजित हुँदै आएका छन् ।यसपटक यो समस्या अन्य दलमा समेत देखिनसक्ने विश्लेषण हुँदै आएको छ ।
