एक भिन्न सम्बन्ध छ बा हुनुको
पसिनाको आहालमा
खुसीसँग खेल्न दिने अधिकारको
तर
पोखरी सानो भएकोमा
गुनासो नगर्नु छोरा।

सानो त
आँखाको नानी ,
महलको गेट खोल्ने
चाबीको साँचो पनि सानो छ
तिमीलाई थाहा छ ,
ठुलो सपना देख्न ठुलो बिस्तारा चाहिन्न भनेर

नदेख धेरै सपनाहरू
नभुल्ने गरी देख एउटा सपना
जसले निद्रासँग युद्द गरिरहोस् !

सिकाउने उपदेश दिने युग रहेन
यो मायाको परिभाषा होइन
एउटा अटुट कामना हुन्छ सबै बाउको
सायद म भिन्न होइन छोरा बाहरूको भिडमा
तिमी तिमी जस्तै हुनु
म जस्तो होइन ।

कम्तिमा सीमामा उभिएर हेर्दा
आमाको काखमा उभिएको देखिने
एक परदेशी जस्तो
कर्तव्यबोध भएर पनि
सिद्धान्त गुमाएका
अरु कसैको विचारबाट निर्देशित
अहिलेको राजनीति जस्तो
नहुनु छोरा !

समयको गतिसँग नछुट्नु
राख्नुपर्छ देश ,समाज, विभेद ,अर्थ र राजनीतिको चेतना
युग जति नै वैश्य भएपनि
पैसा सबै होइन
र सरलतालाई पाइलै पिच्छे डोर्‍याउन सकिन्छ
वादहरुको बाधालाई चिन्नै पर्छ ।

पढ्नु
अध्यात्म र धर्मको भिन्नता बुझ्न,
सरलताको महत्व नबिर्सन
धर्मको नाममा काम गरेँ भनेर
देखाउने मुर्खता नगर्न

हामी होइन छोरा संसार सुन्दर छ
सुन्दरताको कदर गर्नु
गर्नु उमेर ,अनुभव अनि कामको सम्मान
नबनाउनु भिडले दिने निर्णयमा आफ्नो धारणा

छोरा !
विरोध गर्नु निकृष्ट कर्म हो
बुझ
अरुको विरोधमा गएको समय आफ्नो हो

मलाई लाग्छ
समयसँगै अब
बुझ्नुपर्ने बेला आएको छ
कहिलेकाँही सामान्य लागेको कुरा
हुन्छ अधिक महत्त्वपूर्ण
समयले यो सम्बोधनलाई इतिहास बनाएको दिन
पक्कै अझ अर्थ बोकेर उभिन सक्छ
आजलाई चिन छोरा
आज नहुनेको भोलि कहिल्यै हुँदैन ।

– विष्णु पादुका
कोहलपुर ,बाँके

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय