संविधान दिवसको शुभकामना !!( व्यङ्ग्य)

राजनीति

त्यो बेला शरदको नै थियो होला, धान खेतमा थान्कोटेको बासना चल्दै थियो अनि कात्तिकेको लहरा ढल्दै थियो, बरेलाको झाल गल्दै थियो अम्बाको दाना फल्दै थियो तर हाम्रो आशा ढल्दै थियो चुनावी मौसम आएकोले होला नेताले हामिलाइ छल्दै थियो।चुनाव मंसिरमा नेताको बिल्ला भिरेका चोट्टाहरू गाउँमा !

हातमा ट्वाकल बोकेका ट्वाकलमा साबुनपानी अनि अर्को हातमा पाइप चोप्दै फुक्दै आकाश भरी फोका, उसले भन्यो यो सबै मोती हो टिप्नुस धनी बन्नुस् भोट मलाई दिनुस्! लठारिएर दौडिए चेलाहरू र चेलीहरू मख्ख परे झेलीहरू, भोट लगे नेताले सत्ता आयो हातमा मोती फुट्यो हावामा जनता लडे पातमा।

अहिलेको बर्ष उहि मंसिर उस्तै चुनाव बोकेर आएछ , गणतन्त्रको संविधानको बाला सुकेको छ, जल्न बाकी नलिहाडमा चारतारे झण्डा घुसारेर भोट माग्न आउदैछ कोहि, कोहि काले बनेर आउदै छ कोहि भाले बनेर आउदैछ!

अस्तिनको औंसीमा गाई काट्ने ले आज गाई पुज्दैछ, अस्तिन भाइ काट्नेले आज सालिक बनाउदै छ।अन्न बाट बनेको हो भनेर बिस्टा बेच्दैछ जनतालाइ अत्तर छम्केर,पंखा हम्केर, जनता भेडो जस्तै मालिक ठान्छ बस्छ पाउमा लत्रेर।

संविधानलाई चामल नभएको धानको बोरामा हालेर अग्रगमन, परस्त्रीगमन, सिसिटिभी दमन,इमानको हवन गर्दै परमादेशदाता परमाधिपतिको शिर मुण्डन योजनाको महाभियोगले मुन्टो टेकेपछि संविधान दिवसको पूर्व संध्यामा कहिले ठेउकेलाइ कहिले चिर्पटेलाइ संविधानको धारा पैसाको धारा सित साटेका कोतपर्वका पछिल्ला पुस्ता घरमा बन्दी भए अरे ! उनकै छोरा सरकारले गर्‍या अरे। केरामा बुङ्गो नभएनी धानको टुङ्गो नभए नि संविधान दिवसको शुभकामना । राष्ट्रपति,वापती , सभापति अनि एस्तै एस्तै खुरापातीको उन्नतिमा संविधान सफल होस् जनता भट्टीमा जलि रहून् ! नेता टुक्का भनून् हुक्का तानुन् र्‍याल चुहाइरहून, कुम नचाइरहुन् भेडा भ्या भ्या गरिरहून् , संविधान दिवसको शुभकामना।

शम्भु गजुरेल अज्ञानी
नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *