देशभर बलात्कारका घटना बढे लगत्तै
रोमान्टिक कविताको सट्टा
नारा र आक्रोश लेख्न थाले कविहरुले।
सुमधुर संगीतको साटो
शोकधून गुञ्जाउन थाले
संगीतकारहरुले।


कानुन संसोधनको माग गर्न थाले
जनताहरुले!
स्त्रीहरुलाई पुरै जिउ छोपेर हिड्ने आदेश दिइयो
नानीहरुलाई एक्लै हिँड्न प्रतिबन्ध लगाइयो।
यधपि घटनाका तथ्यांक ओरालो लागेन।
सदैव प्रेम र प्रकृतिका चित्र कोरिरहने एकजना नामुद चित्रकारलाई एक्कासी के सुर चल्यो
आक्रोशित भएर
कोर्न थाल्यो प्रत्यक सडक, पर्खाल र भवनका भित्ताहरुमा
योनिका अमूर्त आकृतिहरु!
आश्चर्य!
बिस्तारै मत्थर बन्दै गए घटनाहरु !
तर बिडम्बना!
बिद्रुप बन्यो सुन्दर सहर
जब बिफरले कोत्राएको अनुहार झैँ
छिद्रै- छिद्र बने
चित्र कोरिएका तिँ भित्ताहरु!
राधिका कल्पित
