मुक्तक – १
तिर्खा लागे आफ्नै पसिनाका धारा पिउँछु आफैँ
दस नङ्ग्रा खियाएर आफ्नो जीवन जिउँछु आफैँ
गरिबीले मुटु फाट्दा कमण्डलु बोक्दिनँ म
सियोभित्र स्वाभिमानको धागो छिराई सिउँछु आफैँ ।


मुक्तक – २
भेट्ने मन भए पिउने पानीभित्र खोज
तिम्रा आफ्नै दुई आँखाका नानीभित्र खोज
औँसीको निस्पट्ट रातमा साथी चाहियो भने
जलेँ तर झिल्को छु खरानीभित्र खोज ।
मुक्तक – ३
पूरै हिमाल घुमिदिन्छु शिखर टुङ्गो बन तिमी
जीवन लक्ष चुमिदिन्छु कोसे ढुङ्गो बन तिमी
मरी जाने जिन्दगीमा केही पुण्य काम गरौँ
पञ्चामृत बनिदिन्छु म अपुङ्गो बन तिमी ।
मुक्तक – ४
तपस्या खुब गरेँ तर दर्शन पाउन सकिनँ
धूप र बत्ती बोकेर शक्तिपीठ धाउन सकिनँ
भो, अब आशीर्वादको लन्ठामा लाग्दिनँ प्रभु !
मसानघाटमा बसी हरिकीर्तन गाउन सकिनँ
भरत सिग्देल
नुवाकोट
