नुवाकोट /
उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले “राइट टु रिजेक्ट; राइट टु रिकल” मुख्य एजेन्डा बोकेका वैकल्पिक शक्तिहरु एकताबद्ध हुन आग्रह गरेका छन। एजेन्डा मिलेको भन्दै लामिछानेका दाजुले दिएको प्रतिक्रिया स्वरुप नेपालको विज्ञप्ति सहित यस्तो धारणा आएको हो।

“उन्नत लोकतन्त्र बैकल्पिक होइन, निर्बिकल्प हो। राइट टु रिजेक्ट र रिकल मान्ने सबै मिलेर चुनावमा जाऔं।”उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष तथा अधिवक्ता स्वागत नेपालले एक विज्ञप्ति मार्फत अनुरोध समेत गरेका छन ।

विज्ञप्तिको पुर्णपाठ:

उन्नत लोकतन्त्र बैकल्पिक होइन, निर्बिकल्प हो। राइट टु रिजेक्ट र रिकल मान्ने सबै मिलेर चुनावमा जाऔं।

नेपालमा आजभन्दा १२ वर्षअघि पहिलो पटक राइट टु रिजेक्ट र रिकलको लागि औपचारिक रुपमा अभियान शुरु गरेर वैचारिक राजनीतिक परिबर्तनका लागि हामीले सर्वोच्च अदालतमा रीट दायर गरी एक पटक दरपीठ समेत भएर पुनः दर्ता गरी त्यसको केही वर्षपछि अर्थात् आजभन्दा ९ वर्षजति अघि कानुन बनाउनू भन्ने निर्देशनात्मक आदेश भएको सबैमा विदितै छ ।गुगलदेखि सर्वोच्चका फाइलहरुमा पनि अभिलेखीकृत समेत छँदैछ ।१२ वर्षअघिदेखि हामीले सांसदहरु मन्त्री प्रधानमन्त्री बन्न नपाउने, जनताले सोझै सरकार छान्न पाउने, गलत उम्मेदवारलाई जनताले भोट हालेरै वहिष्कार गर्न पाउने अधिकार राइट टु रिजेक्ट र खराब काम गर्नेलाई जनताले पदबाट फिर्ता बोलाउन पाउने राइट टु रिकल, सरकारले संसद र सांसदले सरकार ढाल्न र बनाउन नपाउने लगायतका धेरै एजेण्डाहरु स्थापित गर्दै नेपालको लागि बैकल्पिक होइन अनिवार्य र निर्बिकल्प विचार अघि बढाउँदै आएका छौं । सोही समयदेखि स्वतन्त्र राष्ट्रिय अभियान र सोही अभियानको अवधारणा पत्र तथा विधान नै उन्नत लोकतन्त्र पार्टीको विधानको आधार हुनेछ भनी पार्टी समेत सोही १२ वर्षे अभियानका अभियन्ताहरुद्वारा स्थापित भई यिनै एजेण्डाहरुका घोषणा पत्र जारी गरी निर्वाचनमा पनि सहभागी भइसकेका छौं।

यसै वीचमा नयाँ खुलेका केही पार्टीहरु र पुरानै पार्टीहरुले समेत तिनै एजेण्डाहरु समेटेर नीति लिन थालेकोमा हामी अत्यन्तै खुसी छौं ।त्यतिबेला हामीले विविसी नेपाली सेवाका प्रमुख रहेका रवीन्द्र मिश्र ज्युलाई हामीले सर्वोच्चमा मुद्दा दायर गर्दा र सो सम्बन्धमा निर्देशनात्मक आदेश हुँदा समेत एउटा समाचार मात्रै बनाएर जनतालाई जानकारी दिन अनुरोध गर्दा समेत नेपालमा यो जरुरी छैन भनी ब्ल्याक आउट गर्नु हुनेहरु र डा. बाबुराम भट्टराई ज्युलाई पनि प्रधानमन्त्री हुँदा अदालतले आदेश गरिसकेकोले सो सम्बन्धमा कानुन बनाउन विधेयक ल्याउनु पर्यो भन्दा समेत सोही जवाफ दिएर पन्छिनु भएकोमा पछि उहाँहरु दुवैले हामीले विकासित गरेको सोही एजेण्डा जनता वीच लोकप्रिय हुन थालेपछि उहाँहरुको पार्टीले पनि सोही नीति लिएको थियो ।

आफ्नो सञ्चारकर्म र सरकार सञ्चालनका समयमा
अस्वीकार गर्ने उहाँहरुबाटै पछि तिनै एजेण्डाहरुमा सम्मिलित हुनु भएकोमा खुसी नै लागेको र हाम्रो विचार ठीक थियो भन्ने निष्कर्श निकालेर विज्ञप्ती जारी गरेका थियौं ।हामीले उहाँहरुलाई पनि धन्यबाद नै दिएका थियौं ।सोही विचारपछि सि के राउत ज्यु र राजेन्द्र लिंगदेन ज्युले पनि लिनु भएकोमा समेत हामी खुसी नै भएका थियौं ।राम्रा विचारहरु अनुशरण गर्नु नराम्रो कुरा होइन तर राइट टु रिजेक्ट र रिकलको व्याख्या भने उहाँहरुबाट कानुन तथा विधिशास्त्रीय ज्ञान नभएकोले हुनसक्छ अझ घातक र विलोम रुपमा अदालतले दिएको आदेशको समेत विपरित भएकोमा एजेण्डा हाइज्याक गरी अझ विकृत व्यवस्थातर्फ धकेल्न खोजिएको हो कि भन्ने चिन्ता विधिशास्त्र बुझ्नेहरुबाट हामीसँग अभिव्यक्त हुने गरेकोप्रति एजेण्डाको मूल मर्म बचाउन हामी सम्वेदनशील रुपमा लागिरहेका छौं । हामीले अझै पनि अदालतको निर्देशनात्मक आदेश अनुसार कानुन नबनाएको विरुद्धमा अदालतको अपहेलनामा प्रधानमन्त्री, सभामुख, कानुन मन्त्री समेतलाई विपक्षी बनाएर पक्राउ गरी मुद्दा चलाउन सम्मानित सर्वोच्च अदालतमा कानुनी लडाइँ लडिरहेकै छौं । सो मुद्दा समेत विचाराधीन रहेको छ।

यसै वीचमा हालै मात्र तिनै १२ अघिदेखि विभिन्न संघर्ष, अभियान र कानुनी लडाइँबाट हामीले विकसित गरी ल्याएका विचारहरु नै अनुशरण गरी सञ्चारकर्मी रवी लामिछाने ज्युदवारा आफ्नो पार्टी घोषणा गर्नु भएकोमा पनि हामी अत्यन्त खुसी भएका छौं। हामीले सो समयदेखि उठाउँदै आएका उक्त एजेण्डाहरु अधिकांश सञ्चारकर्मीहरुले मिडियामा उठाउन अस्वीकार गर्दै आए पनि, अधिकारकर्मीहरुले समेत हामीलाई वौद्धिक विलासी आदि भनी अपमानित गरेर जनताले खोजेको वास्तविक परिबर्तनलाई रोक्न प्रयत्न गरेकोमा आज ती एजेण्डामा सबै एकाकार हुँदै गएकोले हामीले नेपालमा औपचारिक रुपमा विकसित गरेको विचार नेपालको अब बैकल्पिक होइन निर्बिकल्प नयाँ युगको उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रको विचार बनिसकेको पुष्टि भएको छ । हामीले ठीक भनेका थियौं ।

त्यसैले नेपालमा वास्तविक बैकल्पिक भने पनि खासमा निर्बिकल्प विचार उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्र नै हो। सञ्चारकर्मी रवी लामिछानेद्ज्यु द्वारा घोषित पार्टीको नाम हामीले उतिबेलै शुरु गरेको अभियानको अगाडि रहेका शब्द स्वतन्त्र राष्ट्रियलाई शब्द यताउता परी राष्ट्रिय स्वतन्त्र भनी मिल्न गएकोमा र एजेण्डाहरु समेत केही बाहेक मुख्य चाहिँ हुबहु मिल्न गएकोमा समेत अत्यन्त हर्षित हुँदै उहाँको पार्टी दर्ता भइनसकेको अवस्था भए पनि शुभकामना र बधाई ज्ञापन गर्दछौं ।

अब यसरी समान एजेण्डाहरुका सवालमा एक हुँदै गठन हुने क्रममा नै विचारमा मर्ज भइसकेका हामीहरु सबै एक भएर जानुको विकल्प छैन ।त्यसैले पूराना दलहरुको अत्याचार अन्त्य गर्न रवी लामिछाने ज्यु, एक पूर्व असल प्रहरी अधिकारी रमेश खरेल ज्यु नयाँ युगको नयाँ विचार लिएर आउने स्वतन्त्र राष्ट्रिय अभियान उन्नत लोकतन्त्र पार्टी लगायतका सबै पार्टीहरु तथा युवाहरु एक भएर अघि बढ्नका लागि हामी अपिल गर्दछौं । यसका लागि हामी स्वतन्त्र राष्ट्रिय अभियान उन्नत लोकतन्त्र पार्टीको तर्फबाट पहल कदमी लिने छौं ।सबैले जनताको आशालाई अझ बलियो बनाउन आगामि निर्वाचनमा समेत एकाकार रुपमा अघि बढ्न हामी सबै तयार रहेका छौं । यसका लागि हामीले लडेर विकसित गरेको विचार त यहाँहरुले हुबहुजसो अवलम्बन गर्नु भएकोमा धेरै खुसी छौं भने राइट टु रिजेक्ट र रिकल लागू गराउन बाँकी सबैथोक जनताको हितका लागि हामी यहाँहरुलाई छोडिदिन तयार छौं। राम्रो काम सबै मिलेर गरेकै राम्रो हुन्छ। त्यसैले आऔं एकाकार भएर सबै मिली अघि बढौं ।आशा एवम् विश्वास छ सबै नागरिकहरुले पनि यसमा साथ दिनु हुनेछ ।जय नेपाल आमा ।उन्नत लोकतन्त्र जिन्दाबाद ।

~ अध्यक्ष, स्वागत नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय