प्रेमको अर्थ नबुझ्दै तिमीसित सहवास भयो !
आलिङ्गनको मोहजालमा फसेर अट्टहास भयो !!
शकुनि पासामा हारेको तबमात्र चाल पाएँ !
जब जवानीको ओजस्वी शौर्य सर्वनाश भयो !!
~~~~~~~~~~~~~
मृत्युशय्यामा गौमाताको पुच्छर समाती बैतर्नी तार्ने चलन अचम्म !
पितृका नाममा पिण्डदान गर्न खिरका गोला डल्ला बटार्ने चलन अचम्म !!
गठबन्धन, राष्ट्रवाद र अग्रगमनको फोहोरी खेल पनि गजब छ गाँठे !
श्राद्धको जनैझैँ घरी दायाँ त घरी बायाँ काँधमा सार्ने चलन अचम्म !!
~~~~~~~~~~~~~
दृष्टिमा दाग लाग्दा धापको किलो हुन्छ, हल्लिन्छ मान्छे !
एकै पेग लालची पेयले मात्तिन्छ, रल्लिन्छ मान्छे !!
शिखर चढ्नभन्दा अडिन कठिन हुन्छ हजुर !
कामुकताको मोहपाशमा जेलिन्छ, डल्लिन्छ मान्छे !!
~~~~~~~~~~~~~~
जोरीपारीले हाम्रा कुरा काट्दा रिसले चुर हुन्छु
हान्ने राँगोकाझैँ राता आँखा पार्छु महसुर हुन्छु!
मजस्तो सुरो देशभक्त राजनेता कोही छैन, बुझ्यौ ?
सीमा नदीमा तुइनको पाले देखेरै थुरथुर हुन्छु !
भरत सिग्देल
नुवाकोट
