कविता- आऊ, अनुसासित प्रेम गरौँ !

साहित्य र मनोरञ्जन

ओठमा ओठ नजोडौँ,
ओठमा ओठ जोडिदाको
मिठो कल्पना मात्र गरौँ,
प्रेम गर्छु नभनी – नभनी
एउटा मीठो प्रेम गरौँ,
नछोईएरै छोईएजस्तो,
नसा- नसामा तरङ्ग उमारौँ,
मन नअघाउन्जेल हेरौँ मनले ,
हृदयले हृदय छुँदै
आँखा चिम्लेर महसुस गरौँ,
आऊ अनुसशित प्रेम गरौँ ।।

सँगै बसौँ
थोरै दुरि राखेर,
आँखाले बात मारौँ
मन असरल्ल फिँजाएर,
जीवन बिताउन
सिन्दुर दिनुपर्दैन
लगनगाँठो समाउनुपर्दैन
र पर्दैन पनि अग्निको सात फेरोमा
बक्बास कसम खान ,
त्यसैले त
तिम्रो बहुलीमा बाँधिने रहर छैन,
रहर छैन, तिम्रो दुलही हुने पनि,
कति कल्पनाहरु पनि
असाध्यै मीठा हुन्छन्
गर्न जान्यो भने,
कति प्रेमहरू अजम्बरी हुन्छन्
महसुस गर्न जान्यो भने ,
माया त केबल बुझ्न जान्नुपर्छ ,
त्यसैले ,अलि परैबाट है
आऊ ,अनुसासित प्रेम गरौँ ।।

तिम्रो रसिलो आँखामा
निर्धक्क पौडन्छु,
मनमा मन मिलाऊँछु,
आफू बाचेको हरेक पल
तिम्रो प्रेममा रमाउँछु,
र हाम्रो प्रेमलाई
पूर्णाकार दिन्छु,
आऊ, अनुशासित प्रेम गरौँ।।

मलाई हेरेर टोलाउदा
तिम्रो रसिलो आँखामा
मैले आफुलाई पाएको छु,
परैबाट गरेको नमस्कारमा
सामिप्यता भेटेको छु,
एउटाले अर्कोलाई छोयो भने
प्रेमको फूलमा दाग लाग्छ,
ओइलाउँछ, झर्छ र अस्तित्व सकिन्छ ,
त्यसैले
आँखाले बोलौँ,
मनले महसुस गरौँ,
अनुसासित प्रेम गरौँ ।
क्षितिजले जस्तै
धरती सामुन्नेबाट
आकाश छुन लागेकोजस्तो
तर नछोईएको ,
यस्तै -यस्तै मीठो आभास गरौँ,
आऊ, अनुसासित प्रेम गरौँ ।।

न म कसैको हुँ
न तिमी कसैका हौँ
न त यो सन्सार कसैको हो
केबल ,
यो दुनियाँ प्रेमको हो ,
आऊ ,
मन ओछ्याएर
मुटु साटौँ,
सँगै नहुँदा पनी
साथै हुन सकौँ,
बीना स्पर्श
आपसी प्रेममा मातेर
बैँस पोखौँ,
मन अघाउनेगरी
हृदयसँग हृदय जोडौँ,
आऊ, अनुसासित प्रेम गरौँ ।

सुमित्रा सुमि
नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *