यस युगका प्रगतिशील दास हामी
बेलाबेला बोल्न पाउँछौं
आक्रोश र बिरोध घोल्न पाउँछौं
मालिकहरु सजिलोसँग
बिभाजन गर्छन् हाम्रो
विचारमा विचार गरेर विचार बदलिदिन्छन्
र बरबाद समयको भरपाई लिन्छन् मालिकहरु
भोट खसाल्नुलाई अधिकार भनिदिए
उनीहरुको सम्मान नै
देशको सम्मान भनेर कर्तव्य पनि तोकिदिए
संसारकै सर्वोत्कृष्ट व्यवस्थाका
हिमायती हामी

कसैको जीतमा रमाउने
एकल हितमा रमाउने
भोटो फेरिएका जात्रामा
ठुलो पर्व झैँ मनाउने

भोट हाल्नु या नहाल्नु
गती एकै हुन्छ
तिमी माथी र म माथी शासन एकै हुन्छ
जसरी हुनेखाने तिमिलाई र हुँदा खानेलाई महंगी एकै हुन्छ
गजबको समानता छ
स्वतन्त्रता उपभोग गर्न एउटा कुर्ची चाहिन्छ
त्यो बाहेक तिमी जोगि भए पनि
म महा रोगी भएपनि
घाटको समेत कर तिर्नुपर्छ महोदय
हामी लोकतान्त्रिक गणतन्त्रका हिमायती हौँ
कुनै कुरा गर्नु अघि लेखिदिए पुग्छ
जो जसले पनि कागज देखिदिए पुग्छ
झरी रोक्ने बलिया छाता
एक पछि अर्को उघार्न
छाते ढोके बैठके हुन तिमी र म बीच प्रतिस्पर्धा छ
साथी तिमी र म
शत्रु बनियौं/ मित्रु बनियौं
किन कि हामी यस व्यवस्थाका
हिमायती हौँ

मागेर खान जानेका
लुटेर खान जानेका
दुबैकुरालाई बैधानिक बनाउन जानेका
अभाव ,गरिबी र दुर्गम देखाएर
झन् झन् अग्लो पर्खाल पारी पार्न खप्पिस माझ
तिमीहामी भोको भएपछि
गोहिमन रोइ बस्छ
र पासपोर्ट दिएर समृद्धि भित्र्याउन पठाउँछ

चेतना च्यातिएर दिक्क तिमी अनि म
बोलेको लेखेको
उनिहरुलाई आनन्द लाग्छ
उनिहरु लडाउँछन् तिमी र मलाई
पहिलो दोश्रो तेस्रोको ट्याग लगाएर
पुरस्कार डामेपछी
म तिम्रोलागी तिमी मेरालागी ताली पिट्छौँ
मानौँ
चेतनाको अन्तिम गन्तव्य यहि थियो
अलिकति विरोध त मनोरञ्जनात्मक हुन्छ
हो हामी प्रगतिशील छौँ
मालिक प्रती नतमस्तक छौँ ।

बिष्णु पादुका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x