काठमाडौ /
यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आंकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ ।ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ ।
विभागबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागमा भने सरदर वर्षा हुने आकलन छ । त्यसको सम्भावना (३५ देखि ४५ प्रतिशत) अनुमान गरिएको छ ।
आगामी जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर विभागले उक्त आकलन सार्वजनिक गरेको हो । विभागका मेट्रोलोजिष्ट सुदर्शन हुमागाईंका अनुसार प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदूरपश्चिमका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन छ ।
सुदूरपश्चिमको पूर्वी भूभाग कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, प्रदेश १ को मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (४५ देखि ५५ प्रतिशत) रहेको छ ।यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) रहेको छ ।
यस्तै देशको उत्तरी भूभाग र मधेश प्रदेशका धेरै भूभागमा अधिकतम तापक्रम सरदर हुने (३४ देखि ५५ प्रतिशत) देखिए पनि मुलुकको उत्तरी भूभागमा न्युनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) हुने आकलन गरिएको छ ।
विभागका महानिर्देशक कमलराम जोशीले गत वर्षको मनसुनका अवधिमा जम्मा छ वटा मौसम प्रणाली मात्रै सक्रिय भएकामा यस पटक भने धेरैजसो क्षेत्रमा सक्रिय हुने आकलन गरिएकाले पूर्वतयारी र प्रतिकार्य योजना बनाउन जरुरी रहेको औँल्याए ।
उनले त्यसका लागि विभागले सूचना मात्रै दिने हुँदा सम्बन्धित निकायबाट बेलैमा तयारी गर्न पनि सुझाव दिए। उनले विभाग आर्थिक लगायत विविध चुनौतीबाट गुज्रिरहेकाले भौतिक पूर्वाधारमा गरेको लगानीको १० प्रतिशत रकम मात्रै यस क्षेत्रमा लगानी गर्न सके धेरै क्षति न्यूनीकरणमा सहयोग पुग्ने पनि बताए ।