विचारको सङ्कटकाल अझै फेरिएन
तेरो मेरो बिचको पर्खाल अझै फेरिएन।

‘सुटबुट लगा’को छु’ लाग्दो हो वहाँलाई
हो त्यसैले त लाजगाल अझै फेरिएन।

कसैलाई बाह्रै महिना होली आउँछ यहाँ
गर्ने बानी घोलघाल अझै फेरिएन।

फूल जोगाउने आश्वासन कति हो कति
झुटो बोल्ने अरिङाल अझै फेरिएन।

फेरिएन भाषण,फेरिएन खोक्रो नारा
बोलि फेरिएन चाल अझै फेरिएन।

हावाको झोंकाले खरको छानो उडायो
अहँ! सागरको छाल अझै फेरिएन।

कानुनको धाराले फासी सुनाउँदा’नि
क्रुर मानव सञ्जाल अझै फेरिएन।

नातावाद कृपावाद टुङ्गिँएन कहिल्यै
पेलपाल झेलझाल अझै फेरिएन।

समय हेर्दै खुई गर्ने एकथरी जमातको
सरकारी आलटाल अझै फेरिएन।

बल भन्दा बुद्धि ठुलो सिमित कथनमै
बलवानको ठेलठाल अझै फेरिएन।

तँ कुटे जस्तो गर्, म रोएँ जस्तो गर्छु
चोर माथिको चण्डाल अझै फेरिएन।

पाँच बर्ष पुग्यो, अब हजुर हजुर सुरु
थुक्क! यिनको चालढाल अझै फेरिएन।

पेटमा छ रोग, उपचार हुन्छ घुँडाको
हत्या गर्ने अस्पताल अझै फेरिएन।

खान जन्मिएकाले सुनको थालमा खाए
गरिबको पुरानो थाल अझै फेरिएन।

समृद्ध नेपाल सुखी नेपाली कहिले?
जनताको एक सबाल अझै फेरिएन।

बाघको खोल ओडेको देख्छु जता त्यतै
लुट्न पल्किएको स्याल अझै फेरिएन।

सदन देशको घर हो र भाडावाल नेता
दुष्ट उही भाडावाल अझै फेरिएन।

सत्ता फेरिरहन्छ, फेरिरहन्छ नेतृत्व
तर ढुङ्गा मुढा मशाल अझै फेरिएन।

बैशाख उही जेठ उही चैत पनि उही
अंक फेरियो अहँ! साल अझै फेरिएन।

सत्ता फेरियो,कुर्सीमा बस्ने रुप फेरियो
मेरो देश नेपालको हाल अझै फेरिएन।

श्री भवानी नेपाल
ईटहरी-१२ खनार
हाल: युएई दुबई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय