
अदृश्य दुश्मनलाई शब्दको उपहार
चन्द्रमामा दोष देख्ने
ए! दरिद्र मनस्थितिका धनी
तिम्रो रछान जस्तो नियतसंग
साक्षात्कार गर्न सक्दिन र मैले?
तर म जुन संस्कारमा हुर्किएँ
त्यो सिक्ने मौका कहाँ पाएँ?
मेरो दृढता र मौनतालाई कमजोर नठान,
इज्जत र प्रतिष्ठा बचाउन आत्मरक्षाको
खेल खेल्न जानेको छैन होला र अहिले?
तिमी जस्ता दुई पैसे बुद्धिहीनसँग
मुकाबला गर्न जन्मजातै सिकेकी छु मैले।
औलामा कोइला च्यापेर चन्द्रमाको
आकृति बिगार्न नखोज
तिमी जस्ता निशालाई भगाउने
सामर्थ्य राख्छ उसले।
के लाग्छ ?
अँगारले आकृति बिगार्न खाेज्दैमा
चन्द्रमाको महत्त्व घट्छ त ?
तिमी त साउनमा गड्गडाउने फगत भेल हाै
जो सधैं शान्त समुद्रमा रन्थनिने गर्छ।
आफ्नो वरिपरि जतिसुकै क्षतविक्षत पारेपनि,
खमर्याङ् खुम्रुङ् हुँदै समुन्द्रमा मिसिएर
आफ्नो अस्तित्व नै विलय बनाउने
अल्पायु खहरेलाई के थाहा?
समुद्रको महत्त्व अनि शक्ति!!
(गोरक्षनाथको भक्त हुँ तर्साउन नखोज्नु है)
हिमा सनातनी
लमजुङ