कविता
वर्शौंदेखी ठड्याइएका छन्
पत्थरका ठुलाठुला मुर्तिहरु
पत्थरहरु तोडेर बनाइएका छन
मन्दिरका लामालामा सिंढीहरू
अनि
तिनै पत्थर माथी उभिएर गरिएका छन्
मुर्तिका आराधना र पुजाहरु।
कोहि आए श्रद्धाले झुके वरदान मागे
कोहि आए स्वार्थले ढोगे वरदान मागे
भगवानले तथास्तु भनेकी भनेनन् थाहा छैन
सदियौं देखि आउने आइरहे जाने गइरहे
एवम् रितले आस्थाका पुकारहरु लगाइरहे ।
हे भगवान!
मेरो घरमा चोर नपसोस भन्ने पनि यहीँ आए
हे भगवान!
फलानोको घरमा चोर्न सकुँ भन्ने पनि त्यहीँ गए
एकपछी अर्को मागहरु सुनिरहे
कोहि मर्दा रोएनन कोहि जन्मदा हाँसेनन पनि
भक्तहरु आइरहे प्रसादहरु चढाइरहे ।
सुन चढाउनेहरु पनि आए
सुन चोर्नेहरु पनि आए
देश बनाउनेहरु पनि आए
देश बिगार्नेहरु पनि आए
आर्मी आए
पुलिस आए
सरकार आए
नेता आए
जनता आए
नत तिन्ले आँखा खोले नत तिन्ले केही बोले
आउने आए जाने गए
लड्डु खाए फलफूल खाए बसिरहे।
गरिबहरु मन्दिर बाहिर भिख मागिरहे
धनिहरु मन्दिर भित्र गित गाइरहे
मुर्तिमा दूध पोखिरह्यो
झुपडीमा बालक रोइरह्यो
मुर्तिमा फलफूल कुहिरह्यो
गरिबको छानो चुहिरह्यो
मलाई भगवान! मलाई भगवान!
भक्तहरु मागिनै रहे
मुर्ती भगवान बनेर बसिरह्यो
भगवान मुर्ति बनेर बसिरह्यो ।
रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी, नुवाकोट