उत्ताउलो क्षितिज व्यग्र वासनामा सगर चुमी रहन्छ,
एकछिन अधर हटाउन सम्म मान्दैन ,
यता हिमाल ,
युगौंदेखि फुलाएर सेतो प्रेमको फूल कुरिरहन्छ ।
खहरे छिल्लिँदै बगरलाई जताततै छोएर जान्छ ,
चन्चल स्पर्शले पानी -पानी हुन्छ बगर,
झुम्छ आनन्दमा र व्यग्र पर्खाइमा रहन्छ खहरेको ।
नदी कहिल्यै नसुक्ने मायाको मुहान अँगालेर
चुपचाप बहिरहन्छ।
जून ताराहरुले घेरिएको छ ,
बादलको सिरक ओडेर घरी घरी ,
खोइ के के गर्छ,
यता शान्त समुन्द्र छातीमा जून टाँसेर
अनन्त प्रेमको कथा लेखी रहन्छ,
किनारामा नीलो नुनिलो मसिले।
शीत बनेर रात ,छुर्लुप्प भिजेर आफैँ
भर्छ जीवन डालीहरुमा,
बदलामा एउटा मुस्कुराहट सम्म पाउँदैन फूलहरुबाट ,
कृतघ्न फूलहरु ,
रसीलो,कसीलो हँसीलो बनेर कुर्छन् बिहानीलाई,
चुमिन ,चुसिन अनि निचोरिन भमराहरुबाट।
हो !
यिनीहरुले नै उत्तर दिएका छन् मेरा प्रश्नहरूको,
मेरा प्रियतम ,
प्रश्नहरूको ओइरोले सताउने छैन तिमीलाई सोधेर ,
किन??
हामी अदूर भएर पनि दूर छौँ ,
स्पर्शित भएर पनि अश्पर्शित छौँ,
दृश्यमा भएर पनि अदृश्य छौँ ।
सागर नै गुरु मानेर
म कहिल्यै फर्किने छैन ,
उभिने छैन तिम्रो दिलको मजेरीमा
समय सँगै अनन्त अनुरागको सागर भै
मेरै पथमा बहँदै बनाउनेछु ,
अदृश्य ताजमहल बटुलेर गट्टाहरु प्रेम र समर्पणको ।
नमिता दवाडी
गोर्खा नेपाल
हाल न्युजिल्यान्ड