
पोखरा /
मुक्तककार दीपक समीपको मुक्तक संग्रह “अक्षर अक्षरमा देश” को एक भब्य समारोहका बिच बिमोचन भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा पोखरामा आयोजित कार्यक्रममा साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरेका हुन।
कवि तथा गजलकारका रुपमा परिचित दीपक समीपको यो दोश्रो कृति हो । यस अघि उनको भूगोलमा नोकोरिएको देश नामक गजल संग्रह बजारमा आएको थियो ।
कृति विमोचनपछि साहित्यकार सरुभक्तले गजलकारका रुपमा चर्चित समीपले मुक्तककारका रुपमा पनि आफुलाई स्थापित गराएकोमा खुशी ब्यक्त गरे । कवि तीर्थ श्रेष्ठले असल र स्थापित मुक्तककार हुन लामो साधना आवस्यक पर्ने र त्यो साधना मुक्तककार दीपक समीपले गरेको बताए ।
नेपाली लेखक संघ कास्की अध्यक्ष सञ्जीव पौडेलले समीपको कृतिमाथी समीक्षा गरेका थिए । समिक्षक पौडेलले मुक्तककार समीपकको कृतिमा मानवता, प्रेम, देशभक्ति, अस्तित्ववाद, यथार्थवाद जस्ता विशेषता र वर्तमान राजनीतिक परिदृश्यप्रति व्यङ्ग्य रहेको उल्लेख गरे ।
कवि ईश्वरमणि अधिकारीले समीप विचारले प्रजातान्त्रिक, लेखनले प्रगतिशील र व्यवहारले समाजवादी भएको विचार राखे। कविद्वय रमेश श्रेष्ठ र जीवनसागर भण्डारीले पनि समीपका मुक्तक र उनको व्यक्तिगत विशेषताबारे बोलेका थिए ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रीता अधिकारीले गरेकी थिईन् ।
बिमोचित मुक्तक संग्रहमा १ सय १ वटा मुक्तक समेटिएको छ । पुस्तकको मूल्य २ सय पचास राखिएको जानकारी दिईएको छ ।