
थाहा छ महोदय ?
जब मैले आफ्ना पौरखी हातहरूको उचित मूल्य पाइँन
जब मैले राम्रो गर्दा पनि कुनै सद्भाव पाइँन
जब मैले सत्य बोल्दा पनि झुटोको पदवि पाएँ
जब मैले गलतलाई गलत भन्दा गलहत्तिनु पर्यो
तब, म विदेश भासिएँ ।
थाहा छ महोदय?
जब मैले मेरा सर्टिफिकेटको कदर पाइँन
जब मैले जागिरका लागि चाप्लुसी गर्न जानिँन
जब मैले काम पाउनलाई घुस ख्वाउन सकिँन
जब मैले आफू अगाडि बढ्न कसैलाई रिझाउन सकिँन
तब, म विदेश भासिएँ ।
थाहा छ महोदय?
जब मेरो काँधमा परिवारको जिम्मेवारी आयो
जब आफ्नै सन्तानको लालनपालन गर्न सकस भयो
जब मैले छरछिमेकिसँग हात पसार्नु पर्यो
जब मैले मर्ने कि गर्ने, दोसाँधमा पुग्नुपर्यो
तब, म विदेश भासिँए ।
थाहा छ महोदय?
जब तिम्रा जालझेलसँग मेरो केही लागेन
जब तिम्रा कुटिल योजनासँग लड्न सकिँन
जब तिम्रा चिप्ला कुराहरूको अर्थ बुझिँन
जब तिम्रा झोलेहरूसँग म भिड्न सकिँन
तब, म विदेश भासिएँ ।
तब, म विदेश भासिएँ ।
राजेशराज गड्तौला