म्याग्दी।
देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेका बेला म्याग्दीको पुरण्य  गाउँभरिका बासिन्दा भने एउटै धाराबाट काम चलाउन बाध्य छन्।

जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५ स्थित उक्त गाउँमा १०३  दलित परिवार छन्। ती परिवारका ४ सयभन्दा बढी सदस्यले गाँउको बीचमा रहेको एउटा मात्र धारोबाट पानी पुर्याइरहेको वर्षाैं बितिसकेको छ।

त्यस गाउँमा दलित समुदायको मात्रै घर छन्। एउटा मात्र धारा भएकाले बिहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता हुने गरेको स्थानीयले गुनासो गरेका छन्।

अन्य समयमा भन्दा बिहानको समयमा यहाँका गृहिणीलाई सास्ती हुने गरेको ६८ ववर्षीय कालिका दर्जीले गुनासो गरिन्।

बिहान ४ बजेदेखि नै यहाँ भीड लाग्छ’, बुधबार दिउँसो धारामा पानी लिन आएकी उनले भनिन्, ‘११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ, त्यतिबेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ।’

एक गाग्री पानी भर्न एक घण्टा लाइनमा बस्नुपर्ने बाध्यता भएको स्थानीय पार्वती दर्जीले गुनासो गरिन्।

‘घरको अरू काम गर्नै भ्याइँदैन, बिहान धारामै बित्छ, काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीलाई खाना पकाएर खुवाउन ढिला हुन्छ, अनि गाली आफूले खानुपर्छ’, उनले भनिन्, ‘अरू गाउँका घरघरमा धारा छन्,हाम्रो गाउँमा गाउँभरीकै मान्छेका लागि जम्मा एउटा धारो छ।’

यस गाउँमा पानीकै कारण झगडासमेत हुने गरेको पुलाचौरका बुद्धिजीवि शिब बानियाँले बताए।

एउटा मात्रै धारो, १०३ घर परिवार, पानी भर्नका लागि तछाँडमछाड त हुने नै भयो, अनि सुरु हुन्छ झगडा, मेरो पालो भन्दै एक जना अघि बढे पछि अर्को पछि हट्ने कुरै भएन, सबैलाई छिटो पानी भरेर घरको काम सक्ने हतारो हुन्छ।  यहाँ पानीकै कारण दैनिक झगडा समेत हुने गरेको छ’, उनले भने।

बाक्लो बस्ती रहेको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताले खुब मीठामीठा आश्वास मिल्ने गरेको तर कहिल्यै पूरा नगर्ने स्थानीय अगुवा यामबहादुर दर्जीले बताए।

‘हामी जहिल्यै पनि राजनीतिक दलका लागि भोट बैंकका रूपमा प्रयोग भयौं, दलित भएकै कारण सवै राजनीतिक दलहरूबाट हेपिँदै आएका छौं, अहिलेसम्म चुनावको बेला आश्वासनबाहेक अरू केही पाउन सकेनौं’, उनले भने, ‘चुनाव सकियो भने यो गाउँमा नेताहरूले नाकमुखै देखाउँदैनन्।’

जिल्लास्थित राजनीतिक दलले मात्रै होइन, स्थानीय तहका जनप्रतिनिधिले समेत यस गाउँलाई बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ।

‘हाम्रो भोटले नै जितेर गएका जनप्रतिनिधिले चुनावका बेला बाहेक अरू समयमा हामीलाई फर्केर पनि हेर्दैनन्, खानेपानी र मोटरबाटोको मर्मतका लागि कतिपटक यहाँका जनप्रतिनिधिलाई भन्यौं, तर सुनेको नसुन्यै गरे’, स्थानीयवासी लालबहादुर परियारले भने।

बेनी नगरपालिकाले खानपानी समस्या समाधान गर्न उच्च प्राथमिकता दिएको दाबी गरेको छ।

वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मण बानियाँले भने, ‘पुरण्यमा खानेपानीको समस्या छ, तर खानेपानीको स्रोतका अभावमा त्यो समस्यालाई सम्बोधन गर्न सकिएको छैन। उहाँहरूलाई बेवास्ता गरेको भन्ने कुरै आउँदैन, स्रोतको खोजी भइरहेको छ, केही समयपछि उहाँको समस्या समाधानका लागि प्रयास सुरु हुनेछ।’ रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय