लुम्बिनी।
प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधासम्बन्धी ऐन, २०७५ अनुसार सांसदहरूलाई वार्षिक घर भाडा, औषधी उपचार, सभामुख, उपसभामुख, मन्त्रीहरू, विषयगत समितिका सभापति, सचेतकलाई गाडी सुविधा, त्यसमा लाग्ने इन्धन र मर्मत खर्च दिँदै आएको छ।

नियम अनुसार पाउनुपर्ने सुविधा भए पनि कतिपय सांसदले भने ‘तल्लो स्तर’मा पुगेर सेवा उपयोग गरिरहेका छन्। धनाढ्य सांसदले सामान्य चेकजाँचको समेत विल संसद् सचिवालयमा बुझाएर राज्य कोषबाट रकम लिने गरेका छन्। उनीहरूले १० देखि २ लाख ५० हजारसम्म वार्षिक उपचार खर्च लिएका छन्।

तत्कालीन बुटवल नगरपालिकाका मेयर समेत भएका एमाले सांसद भोज प्रसाद श्रेष्ठ रुपन्देहीमा प्रख्यात नाम हो। बुटवलको सुख्खानगरमा २ तलाको उनको घर छ। उनका दुई छोरा मध्ये एक जना औषधी व्यवसायी छन् भने अर्का डाक्टर।

सहरमा विलासी जीवन बिताइरहेका श्रेष्ठले सामान्य उपचारको विल संसद्मा बुझाएर वार्षिक पैसा लिएका छन्। ‘पाएको सुविधा’ भन्दै उनले आर्थिक वर्ष २०७७/०७८ मा ३५ हजार ३६ रुपैयाँ उपचार खर्च लिएका छन्।

शङ्कर पोखरेल नेतृत्वको निवर्तमान लुम्बिनी प्रदेश सरकारमा ९९ दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री समेत बनेका श्रेष्ठले आव. ०७६/०७७ मा पनि ३५ हजार १ सय ६९ रुपैयाँ लिएका थिए।

काँग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाको महालक्ष्मी सुगर मिल छ। कपिलवस्तुबाट ०७५ सालमा उनले यो मिल सर्लाहीको गोडैता नगरपालिकामा स्थानान्तरण गरेका छन्। अर्बौँका मालिक कनौडिया पनि सामान्य उपचार बापतको खर्च लिन संसद् सचिवालयमा विल पेस गर्छन्।

कनौडियाले आर्थिक वर्ष २०७७/०७८ मा २ लाख ४९ हजार १ सय ५७ रुपैयाँ उपचार खर्च बापतको रकम बुझेका छन्।

कपिलवस्तु क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद विष्णुप्रसाद पन्थीको कपिलवस्तु र बुटवलको लक्ष्मीनगरमा गरी २ ठाउँ घर छ। लग्जरियस गाडीमा हुइँकिने उनले पनि सामान्य उपचार बापतको रकम बर्सेनि संसद् सचिवालयबाट बुझ्दै आएका छन्।

अघिल्लो आर्थिक वर्षमा दुई/दुई वटा घर भए पनि उनले मासिक घर मर्मतका नाममा ७ हजार ५ सय रुपैयाँ बुझेका थिए। त्यति मात्र हैन अघिल्लो आर्थिक वर्षमा सामान्य उपचार खर्च बापत २९ हजार ४ सय ४५ रुपैयाँ बुझेका उनले आर्थिक वर्ष ०७७/०७८ मा पनि २५ हजार ५ सय ८५ रुपैयाँ लिएको प्रदेशसभा सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

आर्थिक वर्ष ०७७/०७८ मा लुम्बिनी प्रदेशका ३६ सांसदले २२ लाख ८० हजार ८४६ रुपैयाँ उपचार खर्च बुझेका छन्। आर्थिक वर्ष ०७६/०७७ मा पनि २८ सांसदले १४ लाख ४९ हजार ५ सय ५० रुपैयाँ उपचार बापतको रकम बुझेका थिए। यसरी रकम बुझ्नेहरू अधिकांश आर्थिक हैसियत राम्रो भएकाहरू छन्।

प्रदेश सभाका सूचना अधिकारी विमला पौडेलले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार सांसदहरूले राज्य कोषबाट सुविधा लगेको बताइन्।

ऐन अनुसार १ जना सांसदले उपचार बापत एक आर्थिक वर्षमा ५ लाख रुपैयाँ सम्म उपचार कोषबाट रकम लिन पाउने व्यवस्था छ। चिकित्सकको प्रेस्क्रिप्सन, औषधि र मेडिकल जाँचको रिपोर्ट र बिलसहित सचिवालयमा निवेदन पेस भएपछि उपचार कोषबाट रकम पाइने व्यवस्था भएको र सांसदहरूले रित पूर्वक विवरण ल्याएपछि उपचार बापतको रकम दिने गरिएको उनले बताइन्।

सुशासनविद् खेमराज रेग्मी सांसदहरूले नैतिकता बिर्सँदै गएको बताउँछन्। ‘कानुन बनाएर सुविधा लिए पनि कहीँ कतै नैतिकता पनि सम्झनु पर्छ,’उनले भने,‘गरिबले सिटामोल नपाउनु र कानुन छ भन्दैमा अर्बौँ पैसा कमाउने सांसदले राज्य कोषबाट २५/३० हजार ल्याउनु कहाँ सम्म हो?’

नीति र नियम बनाउँदा पनि यस्ता विषयमा गम्भीर भएर सोच्नुपर्ने उनको भनाई छ। कानुन बनाउँदा जनतालाई बढी सेवा र जनताको कारिन्दा हौ भन्नेहरूले आफ्नो सुविधामा बढी ध्यान दिन नहुने उनले बताए।

कसले कति बुझे रकम ? डिल्लीबहादुर चौधरी २ लाख ३७ हजार २ सय ७० पुरनमान बज्राचार्य २ लाख २० हजार १ सय ६७

माला गोतामे १ लाख ६० हजार ७ सय ५६ कृष्णप्रसाद न्यौपाने १ लाख १९ हजार ९ सय ३३ वैजनाथ कलवार १ लाख ४ हजार ४ सय ५३ महम्मद याकुव अन्सारी ६९ हजार ५ सय ४

विमला शर्मा पन्थी ६० हजार ६ सय ४९ अष्टभुजा पाठक ४८ हजार ४ सय १९ कमलराज श्रेष्ठ ३२ हजार ५ सय ९५

कूलप्रसाद पोखरेल ३९ हजार ७ सय १० पूर्णबहादुर घर्ती (सभामुख) १० हजार ८सय ६५ कृण्णी थारु (उपसभामुख) २४ हजार ५ सय ६६ खड्गबहादुर खत्री १२ हजार ५ सय २२

चिन्तावती कुर्मी १५ हजार ५ सय ९० आशा स्वर्णकार ३५ हजार १ सय ४२ तेजबहादुर वली ३६ हजार ४ सय ५० थानकुमार थापा २७ हजार ९ सय ९७ दीपेश थारु १० हजार ३३

दीपा विक, २४ हजार ३ सय ५७ पुर्मती ढेंगा २४ हजार ६ सय ४६ रमा अर्याल ३७ हजार ४ सय ७९

रामजी प्रसाद घिमिरे २२ हजार ६ सय ६५ रुन्धावती शर्मा ४३ हजार ८ सय ५४ शङ्कर गिरी ३५ हजार ५८ शान्तिदेवी स्वर्णकार ४० हजार ६ सय ४

सरस्वती गौतम ४५ हजार ७ सय ७८ धमकली चौधरी १३ हजार ७ सय ७० दीपेन्द्रकुमार पुन मगर ७ हजार ६ सय ७

कल्पना पाण्डे (हाल पदमुक्त) १ लाख ८० हजार ३ सय ४३ दधिराम न्यौपाने (हाल पदमुक्त) ५३ हजार ९ सय १५ दिनेश पन्थी (हाल पदमुक्त) १६ हजार ६ सय ८ विजयबहादुर यादव (हाल पदमुक्त) १ लाख २६ हजार ४ सय ३८ विकाश पराजुली उकेरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय