काठमाडौ/
डोटिको बोगटान फुड्सिल गाउँपालिकाकी रिना (नाम परिवर्तन) लाई केही दिन पहिले एकाबिहानै ह्वाट्स एप म्यासेज आयो ।एनसेलको ९८२३५९३९२७ नं. बाट आएको म्यासेजमा भनिएको थियो ‘तपाईंको मोबाइल नं. पाँच देशको इन्टरनेसनल कोभिड–१९ लक्की ड्र–२०२२ मा छनौट भएको छ। तपाईंको विजेता फाइल नं. ११४४ रहेको छ । यदि तपाईं यो पुरस्कार लिन चाहानुहुन्छ भने हाम्रो हेड अफिसमा हाम्रो म्यानेजर आकाश बर्मालाई सम्पर्क गर्नुहोला।’ सम्पर्क ह्वाट्स एपबाट मात्र गर्न भनिएको हुन्छ ।
रिनाले उक्त म्यासेज आफ्नो श्रीमानलाई देखाइन् ।श्रीमान्–श्रीमतीको सल्लाहपछि रिनाले ह्वाट्स एप कल गरिन्। कलमा आफूलाई आकाश बर्मा बताउने व्यक्तिले फेरी बधाई दिए। रिनालाई दुई/तीन दिन लगातार ह्वाट्स एप कल आउँदै गयो ।फोटाहरु, भिडियो क्लिपहरु पनि आए। पोष्टर, फोटो, भिडियो क्लिपहरु हेर्दा रिना दम्पत्तिलाई आफू विजेता भएको विश्वास लाग्यो ।उनलाई फेरी फोन आयो, ‘तपाईंको रकम भुक्तानी हुने चरणमा पुगेको छ, तपाईंको बैंक खाता नं. तुरुन्त पठाउनुहोस् । तत्काल खातामा रकम आउँछ ।’


श्रीमान्–श्रीमतीले सल्लाह गरे, खाता नं. पठाए ।एकछिनपछि फेरी फोन आउँछ, ‘तपाईंको मोबाइलमा म्यासेज आएको होला, त्यसमा ओटिपी नं. छ, त्यो हामीलाई पठाउनुहोस्, पैसा पठाउने प्रक्रिया सुरु भयो ।’२५ लाख भारतीय रुपैयाँ अर्थात् ४० लाख नेपाली रुपैयाँ, कसको मन गद्गद् हुँदैन र !उनले म्यासेजमा आएको ओटिपी नं. हतार हतार पठाइन् ।एकछिनमै उनको खाताबाट ७५ हजार रुपैयाँ झिकिएको म्यासेज आयो।
रिनाका श्रीमान्–श्रीमतीलाई बल्ल थाहा हुन्छ आफूहरु लुटियौं भन्ने ।उनले हत्त न पत्त आकाश भन्ने मान्छेलाई फोन गरिन् तर फोन उठेन ।उनले जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी दिइन् । प्रहरीले उक्त जाहेरी संघीय प्रहरी इकाइमार्फत प्रहरी अपराध अनुसन्धान शाखामा पठायो ।रिना त्यो दिनदेखि दिनहुँजसो फोन गर्छिन्, दिइएको नं. मा घन्टी जान्छ तर उठ्दैन ।
दिपायल सिलगढी नगरपालिकाकी पुष्पा (नाम परिवर्तन) को पनि यस्तै गति भयो। उनलाई भ्वाइस म्यासेज आयो। म्यासेजमा ४० लाख भारतीय रुपैयाँ लोटरी जितेको भन्दै बधाई आउँछ ।उनलाई सो रकम लिनका लागि दुई लाख ५० हजार रुपैयाँ जम्मा गर्नु पर्ने शर्त राखिन्छ। ४० लाख भारतीय रुपैयाँ पाउने लोभमा पुष्पाले भने बमोजिमको रकम उनीहरुले उपलव्ध गराएको खातामा पठाइन् ।तर म्यासेजमा लेखिए अनुसारको रकम पाएनन् ।
कैलालीका बिनोद (नाम परिवर्तन) लाई रिनाको जस्तै गरी ह्वाट्स एपमा म्यासेज आयो ।बिनोदले आफन्तहरुसँग सो म्यासेजबारे छलफल गरे। उनका आफन्तले ह्वाट्स एपको केन्द्रीय कार्यालयलाई यो म्यासेजबारे इमेल लेखे । ह्वाट्स एपको केन्द्रीय कार्यालयले इमेलको रिप्लाई गर्दै भन्यो ‘यो सत्य होइन, यस्तो कुनै पनि प्रकारको लक्की ड्र छैन, भ्रममा नपर्नुहोला ।’ बिनोद ठगिनबाट जोगिए ।
अचेल दिनहुँजस्तो यस्ता ठगीका घटनाहरु भइरहेका छन् । कञ्चनपुरमा मात्रै यस्ता करीब ४० घटना आएको संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रहरी बरिष्ठ उपरीक्षक जनकराज पाण्डे बताउँछन् । लोभले ठगिएकाहरु पछि पैसा असुलीका लागि प्रहरीमा जाहेरी लगेर जान्छन् । जिल्लाबाट प्रहरीले केन्द्रीय अनुसन्धान व्यूरोलाई पत्र लेखेर पठाउँछ ।रासस
