काठमाडौ ।
नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०औँ वार्षिकोत्सवलाई राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस, सम्मान तथा अन्तरक्रियासहित नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई र सङ्घका अध्यक्ष मोहन दुवालले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो। प्रमुख अतिथि भट्टराईले सङ्घका संस्थापक अध्यक्ष कीर्तिशेष नकुल सिलवाललाई मरणोपरान्त ‘राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान–२०८३’ प्रदान गर्नुभयो। उक्त सम्मान जीवनसङ्गिनी सुनिता सिलवालले ग्रहण गर्नुभयो।



२०१९ सालमा सिन्धुपाल्चोकमा जन्मिएका सिलवाल २०७३ सालमा कीर्तिशेष हुनुभएको हो। उहाँले सम्पादन गरेका ‘बगर’ र ‘नदी’ पत्रिकाहरू नेपाली साहित्यिक पत्रकारितामा उत्कृष्ट योगदानका रूपमा परिचित छन्। सिलवाल साहित्य गुठीका संयोजक तथा बगर फाउन्डेसनका अध्यक्ष हुनुका साथै दर्जनौँ साहित्यिक कृतिका सर्जक पनि हुनुहुन्थ्यो।

यस अवसरमा नेपाल साहित्यिक पत्रकार सङ्घ नुवाकोट शाखाका संस्थापक अध्यक्ष तथा ‘सङ्गम’ पत्रिकाका सम्पादक सुमित्रा सुमीलाई ‘राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान–२०८३’ र मातृभाषा साहित्यिक पत्रकारिताका अभियन्ता, ‘बुङ्वाखा’ पत्रिकाका सम्पादक पदमकुमार राईलाई ‘राष्ट्रिय मातृभाषा साहित्यिक पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको छ।
कार्यक्रममा विशिष्ट अतिथि समालोचक कृष्ण प्रधानले छापा साहित्यिक पत्रकारिताको इतिहास र आरोहअवरोहबारे मन्तव्य राख्नुभयो भने साहित्य पोस्टका सम्पादक अश्विनी कोइरालाले इ–साहित्यिक पत्रकारिताको आवश्यकता र औचित्यबारे प्रष्ट पार्नुभयो।
सङ्घका अध्यक्ष मोहन दुवालले छापा र इ–पत्रकारितालाई समेट्दै आगामी दिनमा अझ प्रभावकारी योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा उपाध्यक्ष रामप्रसाद पन्त, केन्द्रीय सदस्य यादव भट्टराई, पूर्व उपसचिव केदारकुमार सिलवाललगायतले मन्तव्य राख्नुभएको थियो। धन्यवाद ज्ञापन डा. शैलेन्दुप्रकाश नेपालले गर्नुभएको थियो भने उद्घोषण महासचिव चेतनाथ धमलाले गर्नुभएको थियो।

