इजरायलले मासिक कम्तीमा दुई लाख रुपैयाँ तलब दिने गरी आठ सय नेपाली केयर गिभरको माग गरेको छ। वैैदेशिक रोजगार विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै सुरुमा पाँच सय र त्यसपछि तीन सय नेपालीलाई इजरायलले केयर गिभरका रूपमा लैजाने बताएको छ। दुवै देशका सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले २१ दिनको समय दिएर मंगलबारदेखि आवेदन खुला भएको र दुई महिनाभित्र सबै प्रक्रिया पूरा गरी इजरायलतर्फ रोजगारीका लागि नेपाली युवालाई पठाउने प्रक्रिया सुरु हुने बताए। ‘अबको दुई महिनाभित्र तोकिएको योग्यता र सर्त पूरा गरेका युवाहरूलाई इजरायल पठाउने गरी कार्यतालिका बनेको छ,’ उनले भने।

केयर गिभरको रोजगारीमा जानका लागि नर्सिङसम्बन्धी आधारभूत कोर्स अनमि वा सिएमए गरेको हुनुपर्ने वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिनुपर्ने योग्यता तोकिएको छ। ‘यसपटक इजरायलको रोजगारीमा जान हिब्रु भाषा जानेको हुनैपर्ने सर्त छैन,’ महानिर्देशक घिमिरेले भने।

विभागका अनुसार रोजगारदाताले मासिक पाँच हजार आठ सय ८० इजरायली मुद्रामा नेपाली केयर गिभरको माग गरेका छन् ।मंगलबारका लागि तोकिएको १ इजरायली मुद्रा बराबर ३५.६३ रुपैयाँको विनिमयदरअनुसार मासिक दुई लाख नौ हजार पाँच सय चार रुपैयाँ हुन आउँछ।

इजरायल सरकार र नेपालस्थित इजरायली दूतावासले रोजगारदाताको माग प्रमाणित गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेकाले नेपालबाट केयर गिभरका लागि इजरायल जाने युवाले तोकिएकै काम र निर्धारित दरमा तलब पाउने महानिर्देशक घिमिरेले बताए।

इजरायल पठाउने कामदारलाई व्यवस्थित गर्न श्रम मन्त्रालयले ‘इजरायलका लागि नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका, ०७८’ नै जारी गरेको छ।

दुवै देशको श्रम सम्झौतामा न्यूनतम मासिक ९० हजार रुपैयाँ तलब सुविधा हुने उल्लेख भए पनि यसपटक दुई लाखभन्दा बढी तलब दिन रोजगारदाता तयार भएका छन् ।

विगतमा द्वन्द्वका कारण केयर गिभरमा कामदार नै पाउन मुस्किल भएपछि यसपालि इजरायली रोजगारदाताले आकर्षक तलब दिने गरी कामदार माग गरेका हुन् । विभागका निर्देशक घिमिरेले इजरायलको आन्तरिक द्वन्द्वले नेपाली कामदारलाई कुनै असर नगर्ने दाबी गरे ।

‘कामदारको सुरक्षालाई प्राथमिकतामा राख्ने सर्तमा केयर किभरको माग भइरहेको छ । त्यसैले त्यहाँको द्वन्द्व वा अन्य कुराले कामदारको सुरक्षामा कुनै असर गर्दैन,’ उनले भने, ‘अहिलेसम्म सरकारीस्तरमा गएका कामदारहरूको सुरक्षामा पनि कतै प्रश्न उठेको छैन ।’ हाल इजरायलमा करिब १३ सय नेपाली केयर गिभरका रूपमा काम गरिरहेको विभागले जनाएको छ।

कसरी हुन्छन् कामदार छनोट ?

केयर गिभरका लागि योग्यता पुगेका युवाले विभागको वेबसाइटमार्फत आवेदन दिनुपर्ने व्यवस्था छ। एक अनौपचारिक तथ्यांकअनुसार करिब १० हजार युवा इजरायलको रोजगारीमा जान हिब्रु भाषा, नर्सिङ कोर्ष र तालिम लिएर बसेका छन् । आवेदन दिएकामध्येबाट १५ सयलाई छनोट गर्ने र त्यसमध्ये पाँच सयलाई गोलाप्रथाबाट छानेर इजरायलको रोजगारीमा पठाइने विभागले जनाएको छ। त्यसपछि थप तीन सयलाई पनि गोलाप्रथाबाट छनोट गरिनेछ। श्रम सम्झौतामा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष कामदार लिने सर्त राखेको इजरायलले यसपटक ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदारको माग गरेको छ। केयर गिभरमा जानेलाई बस्ने सुविधा भए पनि लागत आफैँ तिर्नुपर्ने र खाने खर्चसमेत कामदारले नै व्यहोर्नुपर्ने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय