
नुवाकोट /समाजसेवा र मानवीयता जब युवाअवस्थामै चेतनामा रूपान्तरित हुन्छ, त्यहाँ सकारात्मक परिवर्तनका बीउहरू रोपिन्छन्। यस्तै प्रेरणादायी कार्य गरेका छन् नुवाकोटका युवा व्यवसायी पूर्णमान कुमार श्रेष्ठले, जसले आफ्नो जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी समाज सेवामा समर्पित गरे।
असार ६ गते, आफ्नो जन्मदिनको विशेष अवसर पारेर श्रेष्ठले नुवाकोटको प्रसिद्ध धार्मिकस्थल देवीघाटमा अवस्थित जेष्ठ नागरिक आश्रममा पुगेर मायाँ बाँड्ने र केही रमाइला पल बिताउने अवसर जुटाए। उनले आश्रमका वृद्धवृद्धाहरूसँग आत्मीयता साटे, उनीहरूको अवस्था बुझ्ने प्रयास गरे र सानो सहयोगका साथ उनीहरूलाई सम्मान र अपनत्वको अनुभूति गराए।
पूर्णमान कुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिँदै भने,
“सर्वप्रथम मलाई यस धर्तीमा पाइला टेकाउनु हुने र यस संसारमा आँखा देखाउनु हुने मेरा बा-आमा प्रति कृतज्ञ छु। जन्मदिनमा मलाई सम्झेर शुभकामना दिने सबै साथीहरू, आफन्तहरू र प्रियजनप्रति दिलदेखि आभारी छु। तपाईंहरूको साथ, माया र आशीर्वादले मलाई अझ ऊर्जा र सकारात्मकता दिएको छ।”
यस अवसरमा उनले वृद्धवृद्धाहरूका लागि केही खाद्यान्न, लत्ताकपडा तथा आवश्यक सामग्रीहरू सहयोगस्वरूप प्रदान गरेका थिए। उनले जन्मदिनलाई सामाजिक दायित्वसँग जोडेर उदाहरणीय कार्य प्रस्तुत गरेका छन्।
श्रेष्ठजस्तो युवाले बाल्यकालदेखि नै व्यवसायसँगै समाजसेवामा रुचि राख्नु र जन्मदिन जस्तो व्यक्तिगत दिनमा समाजका वञ्चित वर्गलाई सम्झनु, आजको पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।