नचाहाँदा पनि हुन्छ छल नराखिदिनुहोला
भत्किहाल्छ मनको महल नराखिदिनुहोला
“बा” को लास जलाएर फर्कदै छिन् आमा
दोबाटोमा सिन्दुर पसल नराखिदिनुहोला।

साहित्यकार रोमा लम्सालद्वारा लिखित अन्तिमभेट मुक्तकसङ्ग्रह बि. सं. २०८० सालमा प्रकाशन भएका मुक्तकसङ्ग्रहहरू मध्येका एउटा उत्कृष्ट मुक्तकसङ्ग्रह हो । मार्मिक ले आउट देखिन्छ यसमा ।एउटा जोडि अन्तिम भेट भएर होला ठुलै भलाकुसारीमा ब्यस्त देखिन्छन् ।

यहाँबाट छुटेपछि सायद उनिहरूको भेट कहिल्यै नहुने कुरा त पुस्तकको नाम “अन्तिम भेट” नै प्रष्ट पार्दछ । यसको आकर्षक ले आउट डिजाइन भने प्रकाश समीरले गर्नु भएको छ ।उक्त पुस्तकलाई समीर प्रकाशन एण्ड मिडिया प्रा. लि. ले बजारमा ल्याएको हो। यसको मूल्य रू. ३००/- कायम गरिएको छ ।

लेखकलाई यस धर्तिमा जन्मदिने ममतामयी आमा प्रतिको सम्मानमा पुस्तकलाई समर्पण गरिएको छ। वरिष्ठ साहित्यकार एबं गजलकार ज्ञानुवाकर पौडेलको सात पृष्ठ लामो भूमिका रहेको छ यसमा ।उहाँले मुक्तकसङ्ग्रह भित्रका केहि मुक्तकहरूलाई उदाहरणको रूपमा लिदै रोमा लम्सालको खुलेर प्रसंसा गर्नु भएको छ। भूमिका लेख्ने कामबाट टाढा रहन थालेता पनि मुक्तकसङ्ग्रह भित्रका वजनदार मुक्तकहरू र एउटा महिलाले देखाउनु भएको यो साहस र हिम्मतले गर्दा उहाँले यो भूमिका लेखिदिनु भएको बुझिन्छ ।पुस्तकभित्र क्रमशः सुनिल अधिकारी, छवि बैरागी घिमिरे,सुमित्रा सुमी, आँचलकुमार शर्मा,जगत बहादुर खड्का, हरिकृष्ण काफ्लेहरूका शुभकामना राख्नुभएको छ । उहाँले पृष्ठ २० देखि पृष्ठ २४ सम्म आफ्नै मनका कुराहरू बाल्यबाल देखि पुस्तक प्रकाशन गर्ने बेला सम्मका सम्पूर्ण तितामिठा घटनाहरूलाई सिलसिला मिलाएर बर्णन गर्दै जानु भएको छ।

“अबसर मान्छेले पहिलो भेट सम्झन्छ पहिलो प्रेम बिर्सदैन मैले भने अन्तिम भेट सम्झिरहेँ अनि दोस्रो प्रेमी कैद गरें नयनमा” “अन्तिम भेट” पुस्तकलाई पहिलो प्रेमीलाई लुकाउँदै दोस्रो प्रेमीको रूपमा बर्णन गर्न खोज्नु भएको छ उहाँले। खोटाङ जिल्लामा जन्मिएकी, कञ्चनपुरमा बस्दै आएकी हाल कर्मथलो काठमाडौं बनाएकी रोमा लम्सालको भनाइ अनुसार भित्र जत्रो पीडा, अभाब र दवाबमा पनि सधैँ मुस्कुराई रहेको छु र सधैँ मुस्कुराई रहनेछु भन्नुहुन्छ ।मेरो जिन्दगी सधैँ बिन्दासले अगाडि बढिरहेको छ भन्न रूचाउने उहाँभित्र अरूका अगाडि कमजोर नहुने, कमजोर नदेखाउने र केही नयाँ काम गरेर देखाउने जुन सहास, आँट र हिम्मत छ त्यसलाई मान्नै पर्दछ । पृष्ठ २४ मा प्रकाशकका कुरा भन्दै प्रकाश समीरले साहित्यका बिधाहरू मध्येका उत्कृष्ट बिधा मुक्तक बिधामा यस्ता सुन्दर मुक्तकहरूले सजाएको पुस्तक प्रकाशनको जिम्मेवारी दिनु भएकोमा मुक्तककार रोमा लम्साललाई धन्यबाद दिँदै सफलताको कामना समेत गर्नुभएको छ ।

एउटा मुक्तक हेरौं
आँधी बन्छ खहरे खोला, कसले सोचेको थियो र
रित्तिन्छ छिनमै भरी झोला, कसले सोचेको थियो र
खास बन्छु भन्ने मान्छे आखिरमा लास बनेर आयो
“अन्तिम भेट” यसरी होला, कसले सोचेको थियो र

पृष्ठ: २५ मुक्तक नं. १
यो मार्मिक मुक्तकले नसोचेका घटनाहरू समाजमा बारम्बार आइरहेका छन् ।सानो खहरे भन्दै नसोच बर्षामा उर्लिन सक्ने भेल भएर आउन सक्छ त्यो खहरे र बगाइदिन पनि सक्छ सारा बस्तीलाई ।कसैलाई खिसाउन हुँदैन। करोडपति पनि रोडपति बन्न सक्छ कुनै दिन। केही गर्छु भन्दै आजका युवाहरू घर, परिवार, बाबु आमा, छोडेर जग्गा साहुकोमा बन्दकी राखेर ऋण लिएर बिदेश गएर धन कमाएर ल्याउछु भन्दै देशबाट पलायन भएका छन्। कयौं उतै हराएका छन् भने कयौंका लास मात्र फर्किएका अबस्थाहरू छन् त्यस्तै कोहि उतै ठगिएर नकमाई फर्किएका छन् भन्दै बिदेश जान हतोत्साहित गर्ने खालको यो मुक्तक बाट सुरू भएको छ मुक्तक लेखन कार्य ।सबै मुक्तकहरू पढौं पढौं लाग्ने खालका रहेका छन् ।यसको लागि लेखकलाई धन्यबाद दिनैपर्छ।

अर्को मुक्तक
जे छ ठिकै छ सकभर नसोधिदिनुहोला
मर्न सक्छ जिउँने रहर नसोधिदिनुहोला
जिउँने कला खोज्दा खोज्दै थाकेको छ आफैँ
सडक बालकलाई घर नसोधिदिनुहोला

पृष्ठ नं ५१ मुक्तक नं. ५१
यो मार्मिक मुक्तकले आफू जान्ने छु भन्नेले होच्याएर अरूलाई के छ ? कसो छ ? प्रगति के गर्यौ ? भनेर सोध्दामा हुने पीडालाई बोध गराउँदै सडकबालकको घर नभए जस्तै मेरा आफ्नो पनि कुनै घर छैन, कुनै रहर पनि छैन त्यसैले म जे छु ठिक छु, अरूले सोध्दा मनमा पीडा हुने कुरको संकेत गर्नु भएको छ यश मुक्तमा उहाँले।

एउटा श्रृङ्गारिक मुक्तक
धड्कन बढ्यो मन चस्कियो, कस्तो कस्तो लाग्यो
फेरि एकपल्ट बिगत सम्झियो, कस्तो कस्तो लाग्यो
तिम्रो नाम मेहेन्दीले सधैँ लेखिने मेरा हातहरूमा
आज अरूकै नाम लेखियो, कस्तो कस्तो लाग्यो

पृष्ठ: ९७ मुक्तक १४२
माया प्रेम एक जनासंग लगाएर समय परिस्थिति र बाध्यताले अर्कोसंग बिबाह गर्दाको अनुभव र पीडालाई हातमा लगाएको मेहेन्दीसंग दाजेर धेरैका पीडाहरूलाई सम्बोधन गर्न खोज्नु भएको छ उहाँले यो प्रमिल मुक्तकबाट।

अर्को ब्याङ्यात्मक मुक्तक
सवाल सवाल मै छन् सवाल कहिले बन्छ सरकार
जहिल्यै गरिन्छ आलटाल कहिले बन्छ सरकार
सिटामोल मात्र किन्न पनि शहरसम्म धाउनु पर्छ
दुर्गम गाउँमा अस्पताल कहिले बन्छ सरकार
पृष्ठ: १२१ मुक्तक नं. १९१

पुरा देश बोकोको छ यो मुक्तकले बाटोघाटो, शिक्षा, स्वास्थ्य आधारभूत कुराहरू अझै पनि गाउँमा पुग्न नसकेको हुनाले लेखकले दु:खि हुँदै यस्ता संबेदनसिल आधारभूत कुराहरू दुर्गम दुर्गम गाउँसम्म छिटो पुग्न पर्ने भन्दै सरकारसंग छिटो पुर्याउने माग गर्दै ब्याङ्ग्यात्मक शैलिमा दुर्गम ठाउमा अस्पताल लगायतका संरचनाहरू छिट्टै बनाउन दवाब दिने खालको कुरा मुक्तक मार्फत उठाउन सक्नु पनि उहाँको राम्रो कला हो।

त्यस्तै अर्को मुक्तक
दिनहरू गन्छु रातहरू गन्छु “अन्तिम भेट” का लागि
जे जति सहन पर्छ सहन्छु अन्तिम भेट” का लागि
रहर रहरमै मरेछन् भने मेरा रहर रहरकै सफरमा
तिमी चिता बन्नु म लास बन्छु “अन्तिम भेट” का लागिपृष्ठ: १२७ मुक्तक नं. २०२

यस सङ्ग्रहको अन्तिम मुक्तकले अन्तिम भेट गर्नलाई सहज नभएको हुनाले भेटेपछि पुन मिलन हुन नसक्ने कुराको संकेत गरेको छ। यदि तिमीलाई अन्तिम पटक भेट्न सकिन्छ भने म अन्य सारा दु:ख कष्ट झेलेर अन्य भेटहरूलाई छोडेर भए पनि तिमीसंग अन्तिम भेट गर्नको लागि हरपल दौडिदै दौडदै आउनेछु यसरी दौडदा म थाकेर मृत्यु भएछ भने म लास र तिमी चिता भएर “अन्तिम भेट” हुनेछ। जुन भेट युगयुग सम्म “अन्तिम भेट” कै रूपमा रहिरहने छ भन्दै निकै मार्मिक मुक्तक पस्कनु भएको छ रोमा लम्सालले।
सबै मुक्तकहरूले केहि न केही सन्देश प्रवाह गरिरहेका देखिन्छन् ।

मुक्तककार आफैंले भोगेका, देखेका र सुनेका कुराहरूका साथसाथै उमेर, लिङ्ग अनुभूति, चलनचल्तीका शब्दहरू काग कराउनु, आगो भर्भराउने कुरा अशुभ संकेत हुन कि भन्दै मुक्तक पस्कनु भएको छ उहाँले ।समाजभित्र देखिएका विभिन्न प्रकारका बेथिति र विसङ्गतिहरूलाई मुक्तक बनाएर कलात्मक शैलीमा समाजलाई सचेतना दिँदै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन खोज्नु भएको छ उहाँले ।उहाँको यो कला तारिफ योग्य छ ।धेरै ठाउमा माया प्रेमका कुरा उठाउनु भएकोछ उहाँले एउटासंग माया गाँसियो बाध्यताले अर्कोको सिन्दुर राखियो यस्तै धेरै चिन्ताहरूले सताएका मुक्तकहरू छन यस मुक्तकसङ्ग्रह भित्र। जीवन र जगतका कुराहरू मुक्तक बनेर आएका छन् ।एक जना महिलाले आफ्नो जिम्मेवारी बहन गर्दै जीवनका हरेक पक्षलाई समेटेर समय निकालेर यतिको ससक्त मुक्तकसङ्ग्रह प्रकाशन गर्नु भनेको पक्कै पनि चानचुने कुरा होईन।

केलाएर खोज्दै जाँदा केही गल्ति कमजोरी त अबस्य छन् र भेटिन्छन् पनि। कुनै मुक्तक दोहोरिएका पनि छन् ।सायद पुस्तक प्रकाशन गर्ने उत्साह र हतारले गर्दा यस्तो हुन गएको हुन सक्दछ। सुध्दता, वर्ण बिन्यास, भाषाका, त्रुटि या गल्तीहरू खोज्नु भन्दा पनि भावलाई हेर्नु पर्छ र समाजलाई के दियो यस पुस्तकले भनेर हेर्नु पर्दछ हामीले। उहाँलाई अब अर्को शन्तानकी आमा बनेको चाडै देख्न पाइयोस। हार्दिक शुभकामना छ ।

धरहरा अभियन्ता तथा गजलकार ध्रुवप्रसाद गजुरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x