नेपाल राष्ट्र बैंकले १ माघदेखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा नम्बरका आधारमा मात्रै खाता खोल्नुपर्ने व्यवस्था गरेको हो।

त्यस्तै, सामाजिक सुरक्षाअन्तर्गतको सरकारी भुक्तानी दिँदा सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा मात्रै खाता खोल्नुपर्ने भएको छ। यसका लागि खाताबाट रकम झिक्नुअघि ग्राहकको पहिचान गर्नु अनिवार्य भएको निर्देशनमा भनिएको छ।

ग्राहकको पहिचान गर्दा पनि ग्राहकको नेपाली नागरिक वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणका आधारमा गर्नुपर्ने उल्लेख छ।

त्यसबाहेक अब बैंक तथा वित्तीय संस्थाले ग्राहकले खाता खोल्दा उपलब्ध गराएको मोबाइल नम्बर सम्बन्धित व्यक्तिको भएको वा नभएको यकिन गर्ने प्रणाली अवलम्बन गर्नुपर्ने व्यवस्था गरिएको छ। अब अरूका नाममा दर्ता भएको मोबाइल नम्बरबाट बैंकिङ कारोबारमा कडाइ हुने भएको हो।

अब बैंक तथा वित्तीय संस्थाले उच्चपदस्थ व्यक्तिलाई पाँच प्रकारले पहिचान गर्नुपर्ने भएको छ। पदमा बहाल रहेका उच्चपदस्थ व्यक्ति, पदमा बहाल नरहेका, छिमेकी वा नजिकका विदेशी मुलुकका उच्चपदस्थ, अरू विदेशी मुलुकका र अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ व्यक्तिका रूपमा वर्गीकरण गर्नुपर्ने भएको छ।

उच्चपदस्थ व्यक्तिको अभिलेख पदमुक्त भएको पाँच वर्षसम्म राख्नुपर्ने प्रावधानलाई बढाएर १० वर्ष कायम गरिएको छ। त्यस्तै, उच्चपदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्ति भए नभएको यकिन गर्न आफूसँग ग्राहकबाट प्राप्त जानकारी वा संयन्त्रको प्रयोग गर्नुपर्ने उल्लेख छ।

ग्राहकको पहिचान गर्दा भ्रष्टाचार, कर छली, मानव बेचबिखन एवं जोखिमयुक्त कसुर र क्यासिनो वा इन्टरनेट क्यासिनो व्यवसायी, बहुमूल्य धातु व्यवसायी, घरजग्गा व्यवसायी तथा सहकारीको खाता भएका व्यक्तिहरूको कारोबारलाई प्राथमिकताका आधारमा अनुगमन गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x