नुवाकोट /
जिल्लाको म्यागङ -४ किम्ताङकी डा. शान्ती लामा बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) को प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएकी छिन।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लामालाई नियुक्त गरेको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले खुल्ला प्रतिस्पर्धा माफर्त दरखास्त आह्वान गरी परीक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरेर नियुक्तिका लागि ३ जना उम्मेदवार सिफारिस गरेको थियो।


मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले प्रमुख कार्यकारी निर्देशकका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो।
समितिको सिफारिसअनुसार दखास्त परेको ७ जनाबाट ५ जनाको नाम संक्षिप्त सूचीमा तयार गरेर परिक्षा संचालन गरेको थियो भने गत पुस १ मा अन्तरवार्ता लिएर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरिएको थियो । सोही सिफारिस अनुसार लामालाई प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।
प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएकी लामा नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य हुन् भने २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।
