
साउदी अरब/
साउदी अरेबियाको रियाद स्थित एक निजी कम्पनीमा काम गर्ने सुमन नेपाली (परिवर्तित नाम) १९ लाख रुपैयाँ ठगीमा परेका छन्। उनलाई हिन्दी र अरबी भाषा बोल्ने एक पाकिस्तानी नागरिकले प्रलोभनमा पारी ठगेका हुन्।
सुमनले साउदीबाट ८ लाख ५० हजार नेपाली रुपैयाँ पठाइसकेपछि पनि थप पैसा मागिएको थियो। रकम दिन नसकेपछि ठगी गर्ने समूहले उनलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ। आफ्नो ज्यान जोखिममा परेको भन्दै सुमनले परिवारलाई जानकारी दिएका थिए। त्यसपछि परिवारले त्रासका कारण एक नेपालीको खातामा १० लाख ५० हजार रुपैयाँ ट्रान्सफर गरिदिएका थिए।
तर, पैसा पठाएपछि पनि समस्या समाधान नभई थप ६ हजार साउदी रियाल मागिएपछि परिवारले साउदीस्थित सामाजिक ब्यक्तित्वलाई सम्पर्क गरेका थिए। उनले यो घटनाबारे बुझेर नेपाली राजदूतावास, रियादलाई जानकारी गराएका थिए। दूतावासले नेपालमा रकम ट्रान्सफर भएको खातावालाबारे अनुसन्धान गर्न र साउदीमा पुलिस रिपोर्ट गर्न सुझाव दिएको थियो। तर, पीडितले सुरक्षा कारणले प्रहरीमा उजुरी गर्न सकेका छैनन्।
सुमनले ह्वाट्सएपमार्फत ठगी गर्ने समूहसँग सम्पर्क गरेका थिए, जहाँ उनलाई लोभमा पारेर व्यक्तिगत जानकारी लिइ मानसिक दबाब दिइएको थियो।
हालका दिनमा साउदीमा सस्तोमा आइफोन दिने, लोटरी परेको भन्दै, वा अन्य प्रलोभन देखाएर नेपाली नागरिकहरू ठगीमा पर्ने गरेका छन्। यस्ता घटनाहरूमा फोनमार्फत पैसा माग्ने व्यक्तिहरूसँग कुनै लेनदेन नगरी तुरुन्तै सम्बन्धित दूतावास, प्रहरी, वा संघसंस्थालाई जानकारी दिन आवश्यक रहेका छ।
नेपाल सरकार र सम्बन्धित निकायले यस्ता घटनाहरूलाई गम्भीरतापूर्वक लिएर तुरुन्त कारबाही गर्नुपर्ने माग उठिरहेको छ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्न र अपरिचित व्यक्तिहरूसँग सतर्क भएर व्यवहार गर्नुपर्ने आवश्यक देखिएको छ।
यो घटनामा पीडितको व्यक्तिगत जानकारी गोप्य राख्दै अन्य नेपालीहरूलाई सचेत बनाउनका लागि यो समाचार प्रकाशित गरिएको हो।