नुवाकोट /
आज साउने सक्रान्ति अर्थात लुतो फाल्ने दिन हो। आजबाट असार सकिएर साउन महिना शुरु भएको छ। साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकाले धेरै गर्मी हुने र निरन्तर झरि पर्ने तथा कृषकहरु कृषीकार्य गर्दा पानीमा भिज्ने, माटोमा खेल्ने, अनि हिलाम्मे हुने गर्दछन। जसका कारण मानिसलाई यो महिनामा विभिन्न किसिमका छालासंग सम्बन्धित रोगहरु विषेश गरि लुतो, दाद, घमौरा आउने बढी सम्भावना हुन्छ।

साउने संक्रान्तिलाई यो परिपेक्षमा लुतो फाल्ने सक्रन्तिका रुपमा मनाउने चलन छ। लुतो फाल्ने आ–आफ्नै जनविश्वास रहेको छ।

यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ।

कतै भने आज बेलुका साझ परेपछि पैयाको हाँगा, कुरिल्लो आदि राखेर आगोको राको लाई फाल्ने चलन पनि छ।

साउन महिनाभरि अत्यन्त वर्षा हुने भएकोले यसलाई ‘पावस ऋतु’ पनि भनिन्छ। कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन्।

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ।

महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् ।देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकीले सोमबारको व्रतको महत्व छ।

के हाे लुताे फाल्ने भनेकाे ?

परम्परागत रूपमा एक हिसाबले यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ। विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ।

साथै, कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ-आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ।

यही साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x