काठमाडौ /
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ताको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको भेटवार्ताले राष्ट्रिय राजनीति तरङ्गित भएको छ। शनिबार दिउँसो करिब ३ घण्टा ओली निवास बालकोटमा उनीहरूबिच भएको वार्ताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयुबारे संशय पैदा गराएको हो।

कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूले सार्वजनिक रूपमा सत्ता सहकार्यको वकालत गरिरहेका बेला देउवा र ओलीको भेटवार्ता अर्थपूर्ण बनेको देखिन्छ। एमाले अध्यक्ष ओली शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यक्रम छोडेर देउवासँग संवादमा जुटेका थिए।

ओलीले स्वास्थ्यमा सामान्य समस्या आएको भन्दै प्रधानमन्त्री प्रचण्डसहितका नेताहरू सहभागी कार्यक्रमको उपेक्षा गरे। ओलीले देउवालाई आफ्नै निवासमा बोलाएर लामो कुराकानी गरेपछि सत्ता गठबन्धनमा हलचल मच्चिएको छ। ओली–देउवा भेटपछि आइतबार प्रधानमन्त्री प्रचण्डले ओलीसँग वार्ता गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगको छलफलपछि अध्यक्ष ओलीले सबैसँग छलफल भइराखेको प्रतिक्रिया दिएका छन्। यता कांग्रेस सभापति देउवाले पनि आन्तरिक छलफल तीव्र पारेका छन्।

आइतबार बिहान देउवाले पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएका थिए। देउवाले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि वातावरण निर्माणमा लाग्न पार्टीका नेताहरूलाई खटाएका छन्।

‘समसामयिक राजनीतिका विषयमा छलफल भएको हो। मुलुकको बृहत्तर हितका लागि दुई जना (ओली र देउवा)बिच संवाद भएको हो,’ लेखकले भने, ‘यो स्वाभाविक समसामयिक निरन्तर भइरहने भेट हो।

ओलीसँगको संवाद सकारात्मक रहेको भन्दै परिणामका लागि केही दिन हेर्नुपर्ने उनको भनाइ छ। ‘उहाँहरूबिच सकारात्मक संवाद भएको पाएको छु। अब हेरौँ ।बिस्तारै सबै कुरा हुँदै जाला,’ लेखकले भने।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले देउवा र ओलीको भेटवार्ता सामान्य राजनीतिक संवाद भएको बताए। उनले भने, ‘दुई नेता संवादमा बस्दैमा आशङ्का गरिहाल्नु हुँदैन। समसामयिक विषयमा सामान्य छलफल भएको हो,’ उनले भने।

कांग्रेसका एक पदाधिकारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर जान सकिने परिस्थिति बन्ने बताए। उनले भने, ‘आजको भोलि नै सत्ता समीकरणमा फेरबदल ल्याउने तहमा छलफल भएको छैन। हिजोको संवादले सत्ता सहकार्यको ढोका भने खोलेको छ।’

ती पदाधिकारीका अनुसार ओलीसँग आधा–आधा कार्यकाल प्रधानमन्त्रीमा आलो–पालो गर्न देउवा तयार देखिएका छन् ।‘सभापतिजीले मिलेर जान गरेको प्रस्तावमा ओलीजी सकारात्मक हुनुहुन्छ। अब दोस्रो तहका नेताबिच प्राविधिक कुरा मिलाउन संवाद अगाडि बढेपछि निष्कर्षमा पुगिन्छ,’ ती पदाधिकारीले भने।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि देउवा र ओलीबिच भेटवार्तालाई ‘आइसब्रेक’का रुपमा अर्थ्याए। ‘दुई वटा मुख्य राजनीतिक दलका सभापतिहरूको भेट स्वाभाविक कुरा हो। उहाँहरू (देउवा र ओली)बिच संवाद नै नभइरहेको देखिन्थ्यो। शनिबारको भेट एउटा ‘आइसब्रेक’ जस्तो हो,’ उनी भन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय