नुवाकोट /
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई मंगलबार काठमाडौंको बालाजुस्थित चप्पलकारखानाबाट नियन्त्रणमा लिइएको हो।
ट्राफिक प्रहरीले नुवाकोटको सुर्यगढी गाउँपालिका–२ का ४५ वर्षीय दीपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका–२ का २८ वर्षीय सन्तोष घलेलाई नियन्त्रणमा लिएको हो।
गत जेठ २ गते काठमाडौंको मनमैजुबाट वाग्मती प्रदेश ०२–०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका–१ झोरबाट वाग्मती प्रदेश ०२–०२२ प ४४ ५४ नम्बरको मोटरसाइकल हराएको निवेदन परेको थियो।
मोटरसाइकल खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ३३ ९९ नम्बर राखी चलाइरहेको अवस्थामा तामाङलाई र वाग्मती प्रदेश ०२–०१८ प ०००८ नम्बर राखी चलाइरहेको अवस्थामा घलेलाई हिजो पक्राउ गरिएको हो।
नियन्त्रणमा लिएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगञ्जमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको छ।