नुवाकोट/
सरकारले संविधान दिवसमा तीन दिन मनाउने निर्णय गरेको छ। आइतबार बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले असोज ३ गतेको संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए।

प्रधानमन्त्री अध्यक्ष रहेको उक्त समितिको बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रम गर्दै संविधान दिवस मनाउने निर्णय गरेको हो। असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावलीलगायतका कार्यक्रम हुनेछन्।

मन्त्री ज्वालाले भने, ‘असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम आजको बैठकले निर्णय गरेको छ। संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतमा बसेको बैठकले निर्णय गरेको छ। २ गते विभिन्न कार्यक्रम जस्तो स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गर्ने, ३ गते भव्य, वृहत कार्यक्रम, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने, देशभर पनि वृहत कार्यक्रम गर्ने । विदेशस्थित राजदुतावासहरु,कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाउने।’

उनका अनुसार असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम तय गरिएको छ।

असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यकाबाहिर पनि विविध कार्यक्रम हुनेछन्। नेपालमा ०७२ असाेज ३ गते संविधान जारी भएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय