नुवाकोट /
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ३० वर्षीय समिर आले मगर, ३५ वर्षीया शर्मिला सुनुवार, ४० वर्षीया तारा गुरुङ र ५१ वर्षीय जगतबहादुर खड्का रहेका छन्। नवलपरासी घर भई टोखा बस्दै आएका समिरले क्यानडा पठाइदिन्छु भन्दै महेश पौडेलसहित अन्य दुई जनासँग ५ लाख ४५ हजार रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
त्यस्तै शर्मिलाले क्रोयसिया पठाइदिन्छु भन्दै पीडितसँग दुई लाख लिएर सम्पर्कविहीन बनेकी थिइन्। फुड प्याकिङमा मासिक एक लाख बढी तलब हुने आश्वासन दिएर उनले ठगी गरेको प्रहरीको भनाइ छ।
त्यस्तै ताराले नेदरल्याण्ड पठाइदिन्छु भन्दै रविन चौधरीसँग ३ लाख ४५ हजार ठगी गरेकी थिइन्। सुपर मार्केटमा काम लगाइदिने र मासिक एक लाखभन्दा बढी तलब हुने भन्दै उनले चौधरीलाई आवश्वास दिएकी थिइन्। तर पैसा लिएर उनी सम्पर्कविहीन बनेपछि ठगी मुद्दामा पक्राउ गरिएको प्रहरी उपरिक्षक केसीले जानकारी दिए।
त्यस्तै सल्यान घर भई भक्तपुरको सूर्यविनायक बस्दै आएका जगतले कुवेत पठाइदिन्छु भन्दै दिलीप विष्टसँग एक लाख ९४ हजार ठगी गरेको प्रहरीको भनाइ छ। उनले कुवेतमा बाइक राइडरमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरीको भनाइ छ।
थप अनुसन्धानको लागि चारै जनालाई ताहचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।