नुवाकोट /
नेपालमा सडक दुर्घटनाको अवस्था भयावह रहेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ५ वर्षमा मात्रै सडक दुर्घटनामा परी १२ हजार ६१२ जनाको मृत्यु भैसकेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को १२ महिनाको अवधिमा मात्र ३५ हजार ७५४ वटा सडक दुर्घटनाका घटना भएका छन्। जसमा परी २३ सय २० जनाको मृत्यु भएको छ। यो संख्या पछिल्ला वर्षहरुको तुलनामा केही कम भएपनि ज्यानमारा दुर्घटनाको शृङ्खला भने रोकिएको छैन।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २८ सय ८३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए। आव २०७७/७८ मा २६ सय ५८, आव २०७६/७७ मा २५ सय र आव २०७५/७६ मा २२ सय ५१ जनाको सडक दुर्घटनामा ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ।
सडक सुरक्षा विज्ञ तथा पूर्व ट्राफिक प्रहरी प्रमुख केशव अधिकारी सडक पूर्वाधार, कमजोर नियमन र चालकको लापरवाहीले नेपालमा धेरै दुर्घटना हुने बताउँछन्। ‘सवारी साधनको संख्याका हिसावले हामी विश्वमा नगन्य अवस्थामा छौं,’ उनले भने, ‘तर, दुर्घटना र मानवीय क्षति संसारमै उच्चमध्येमा हामी छौं, यो डरलाग्दो अवस्था हो’।
यस्तो अवस्था आउनुमा सडकको रेखाङ्कन नमिल्नु, नेपालको भूगोल अनुसार चालक अनुमति पत्र दिने प्रणाली कमजोर हुनु र सडकमा तँछाडमछाड गर्ने चालकको प्रवृत्ति मुख्य कारण रहेको उनी बताउँछन्।
‘नेपालमा सडक बनाउँदा यति धेरै घुम्ति राखिन्छ कि एक अर्का दिशाबाट आएका सवारी चालकले १०/१२ मिटर मात्र बाँकी रहँदा गाडी आएको देख्छन्,’ उनले भने, ‘तीव्र गतिमा रहेका सवारीलाई चालकले नियन्त्रणमा लिन सकेनन् भने दुर्घटना हुन्छ, यसमा सडकको डिजाइनको गल्ती हुन्छ।’ ड्राइभर सिटमा बसेपछि ब्रेक थिच्न नमान्ने चालक र उनीहरुलाई नियमन गर्ने निकाय कमजोर हुँदा समेत नेपालमा दुर्घटना बढेको अधिकारीले बताए।
धेरैजना यात्रु बोकेर हिंड्ने हेबी सवारी साधनको चालक दक्ष र अनुभवी हुनुपर्ने मान्यता विपरीत अनौपचारिक रुपमा लाइसेन्स प्राप्त गरी सवारी चलाउने प्रवृत्तिले समेत दुर्घटना निम्त्याउने उनको भनाइ छ।