जुम्ला/
जिल्लाको तिला गाउँपालिका- ८ जुम्लाकोट गाउँका धन्नलाल बस्नेतलाई पाँच जनाको परिवारका लागि खाद्यान्न जोहो गर्न मुस्किल परेको छ। उनलाई सबै भन्दा सास्ती नुन जुटाउन हुन्छ।
उनी नुनको जोहो गर्न करिब पाँच घण्टाको यात्रा तय गरी सदरमुकाम खलंगा पुग्ने गरेका छन्।
’अन्न त बरु बारीमै उब्जाएर पनि खाइन्छ, तर नुनखाेज्नु पर्ने सास्ती भने पुस्तौँदेखि भोगिरहेका छौं। गाउँमा नुन डिपो छैन। त्यसका लागि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ।’ उनी भन्छन्।
गाउँपालिकाको १ देखि ९ वडाका बासिन्दालाई नुन लिन सदरमुकाम सम्म आउनु पर्ने बाध्य छ। सदरमुकामस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालयले आयोडिनयुक्त नुन प्रतिव्यक्ति ३ देखि ५ किलो बिक्री गर्छ ।
गाउँपालिकाका बासिन्दालाई सदरमुकाम पुग्न पैदल यात्रामा पाँच घण्टा जतिको समय लाग्छ। पाँच केजी नुन लिन एक दिन त लाइनमै बस्नुपर्ने हुन्छ। नुन लिएर फर्कँदा ३ दिनसम्मको समय लाग्छ। यती मात्र होइन पाँच किलो नुन लिन एक हजार देखि पन्ध्र सयसम्मको खर्च लाग्छ।
स्थानीय बस्नेत भन्छन् ’सदरमुकाममा नुन लिन आउँदा होटलमा बस्नुपर्ने बाध्यता छ। होटलमा सामान्य खाना एक छाकको २ सय ५० सम्म पर्छ। डिपोमा पाँच किलो नुन लिन पनि कम्तीमा १५ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ।’ उनले गाउँमै डिपो खोल्न कसैले ध्यान नदिएको गुनासो गरे।
’कि नुनबिनै खाना खानुपर्यो, नत्र खलंगा आउनुको विकल्प छैन’,उनले भने, ’डिपोमा दिनभरि लाइन बस्नुपर्छ, हामीलाई ५ किलो नुन लिन पनि ठुलो दुःख छ ।’
यस्तै पातारासी गाउँपालिका-३ का सान्ताराम बुढाको दश जनाको परिवारलाई पनि सधैँ नुनको दुःख छ।
गाउँपालिकामा डिपो नहुँदा स्थानीयले नुनका लागि ठुलो सास्ती खेप्नुपरेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा बताउँछन्। डिपो स्थापनाका लागि धेरै निकायमा पुगे पनि कतैबाट सुनुवाइ नभएको उनको गुनासो छ।रासस