रामेछाप/
निर्वाचित जनप्रतिनिधिले विद्यालयको जस्ता चोरेर सूँगुरको खोर बनाएका छन्। दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौश्वाराका वडा सदस्य हरिबहादुर मगरले विद्यालयको सामान चोरेर सुँगुरको खोर बनाएका हुन्।

वडाको शिवलेङगेश्वर मा.वि ताम्चेतको विद्यालय परिसरमा राखेको जस्तापाता, फलाम, काठ–पात लगायतका सामाग्री वडा सदस्य मगरले राति गाडीमा लोड गरी लगेको स्थानीयले बताए।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य मगरले लाखौँ मूल्य पर्ने विद्यालयको सामान लगेको स्थानीयको भनाई छ। एक पटक प्रयोग गरी निकालेर राखिएका काठ, जस्तापाता, फलामका विभिन्न सामाग्री राता–रात उठाएको सोही विद्यालयको व्यवस्थापन समितिका एक पदाधिकारीले नाम नभन्ने सर्तमा बताए।

उनले भने ‘राती विद्यालय परिसरमै गाडी लगेर सबै उठाउनु भएछ। उहाँ शिवलेङगेश्वर मा.वि ताम्चेतको विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य समेत हुनुहुन्छ । अहिले उहाँले उक्त सामान उठाएको खुलासा भएपछि भने गाउँलेलाई पद र पावरको धम्की दिन थाल्नु भएको छ ।उनले भने– ’अहिले मसँग पद छ, पावर छ तिमीहरूले के गर्न सक्छौँ भन्ने धम्की वडा सदस्यज्यूले दिन लाग्नु भएको छ। उहाँको धम्कीले विद्यालयले समेत केही कारबाही प्रक्रिया अगाडि नबढाई लाखौँको सामान रातारात चोरी हुँदा र चोरी गर्ने व्यक्ति थाहा हुँदा समेत चुपचाप बस्नु परेको छ।

चोरी भएको सामानले वडा सदस्य मगरले ३०÷४० वटा सुँगुर अट्ने फार्म बनाएका छन् ।वडा र पालिकाबाट कृषि तथा पशुपालन अनुदान कुम्ल्याउनले उद्देश्यले मगरले विद्यालयका सामान उठाएर रातारात फर्म तयार पारेका हुन्। उनले सबै विद्यालयको सामाग्रीले फार्म तयार पारेको ती स्थानीयहरूको आरोप छ।

रातारात गायब पारिएको सामान कहाँ छ? प्रहरीमा रिपोर्ट गर्नु भयो भनी सोध्दा प्रधानाध्यापक चतुर्मान तामाङले फोन काटे। बारबार फोन गर्दा समेत प्रधानाध्यापक तामाङले फोन उठाएनन्। उनी ३ महिना अगाडि मात्रै प्रधानाध्यापकमा नियुक्त भएका हुन्।

सामान उठाउने बेला आफू गाउँमा नभएकोले सबै यथार्थ जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीलाल थापा मगरले बताए।

उनले भने ‘म त्यति बेला काठमाडौँमा थिए। २-४ दिनपछि फिर्ता ल्याउने गरी लानु भएको भन्ने सुनेको छु। नसोधी लगेको है न। तर, कसरी बाहिर गयो त्यो अचम्म लाग्यो।’ उनले घटना बाहिर जान लागेको विषयमा चासो दिँदै सामान चोरी भने नभएको दाबी गरे।रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x