काठमाडौँमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन। उनीहरूले मोबाइलबाट हाजिरी ( ल्याप्चे ) गरे पुग्छ। अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको छ।
समितिका तत्कालीन सदस्य सचिव एवं वाग्मती सुधार आयोजनाका आयोजना प्रमुख लीला ढकालको पहलमा २०७६ कात्तिकदेखि यस्तो व्यवस्था मिलाइएको हो। यसैकारण कार्यरत ५६ जना ज्यालादारी तथा १ सय १० जना करारका कर्मचारीलाई हाजिर गर्न दिनदिनै कार्यालयमा जानुपर्दैन।
उनीहरूले आफू फिल्डमा गएको जानकारी मोबाइल एपबाट कार्यालयमा पठाएमा हाजिरी भएको मानिन्छ। त्यहाँ स्थायी कर्मचारीको दरबन्दी २८ छ। अधिकांश कर्मचारी ज्यालादारी र करारमा छन्।
उनीहरूको तलब सुविधा पनि घरमै पुग्छ। अर्थात् तलब भत्ताका लागि पनि उनीहरू कार्यालय जानुपर्दैन।अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले उनीहरू सबैको तलब बैंकमा पठाइदिन्छ। समितिका आइटी प्रमुख रोहित कँडेलका अनुसार ज्यालादारी तथा करारमा कार्यरत सबै कर्मचारीको मोबाइलमा आरसिएमसी ( रिभर क्लिनर मोनिटरिङ सिस्टम) नामक एप राखिएको छ।
आजको नागरिक दैनिकमा समाचार छ ।