
नुवाकोट /
जिल्लामा सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनमा कडाइ गर्ने भएको छ।
बुधबार बसेको सार्वजानिक यातायातका सरोकारवाला र यातायात व्यवसायीको बैठकले तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारी साधनलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधी अधिकारीले बताए।
यसैगरी बैठकले यात्रुवाहक सवारीहरुले यात्रुले दिने सुविधामा तोकिएअनुसार सेवा सुविधा प्रभावकारी रुपमा कार्यान्वयन गर्नपर्ने निर्णय गरेको छ। प्रत्येक महिनाको १५ र ३० गते अनुगमन गर्ने र सेवामा कमि कमजोरी देखि तत्काल सुधारको लागि सुझाव दिने निर्णय गरेको छ।
बैठकले यातायात भाडामा अस्वाभाविक रुपमा असुली गरेको जनगुनासो आएकोले त्रिशूलीदेखि गल्छीसम्मको भाडा एसी बसले १३० र अन्यले ११०, ढुंगेदेखि बेत्रावतीसम्म ४०, त्रिशूली काठमाडौंको एसी बसले ३७० र डिलक्स बसको ३१० भाडादर निर्धारण गरेको छ।
बैठकमा जिल्ला प्रहरी कार्यालय, नागरिक समाज, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।