लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूल नेपालका उच्च पहाडीदेखि निम्न हिमाली भेगहरूसम्म फागुनदेखि चैत, वैशाख र जेठ महिनाभर फुल्ने गर्दछ। यति बेला अनेक थरीका गुराँसले जंगललाई रंगीचङ्गी बनाएको छ ।

लाली गुराँसलाई अंग्रेजीमा ‘रोडोडेन्ड्रन’ भनिन्छ। ल्याटिन भाषाको ‘रोडो’को अर्थ रातो र ‘डेन्ड्रन’ को अर्थ वृक्ष हो। ‘रातो रुख’ भन्ने अर्थमा यसलाई रोडोडेन्ड्रन भनिएको हो।

संसारभर गुराँसका १ हजार १ सय ५७ प्रजाति फेला परेका छन् । वनस्पति विभागका अनुसार नेपालमा ३१ प्रजाति पहिचान गरिएको छ। नेपालको कुल वन क्षेत्रको करिब १० प्रतिशत भू–भागमा रहेको जंगलमा गुराँस पाइन्छ। पूर्वदेखि सुदूरपश्चिमका ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ प्रकारका गुराँस पाइएका छन्।

गुराँस पतझड वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ। धेरैजसो भिरालो ठाउँमा उम्रन्छ। नेपालमा समुद्र सतहको एक हजार तीन सयदेखि दुई हजार पाँच सय मिटर उचाइ हाराहारीमा लालीगुराँस गुराँस पाइन्छ। लाली बाहेकका गुराँस भने चार हजार पाँच सय मिटर उचाइ हाराहारीमा पनि फेला परेका छन् ।

३ हजार मीटरभन्दा माथिको उचाइमा सेतो गुराँस पाइन्छ। हिमाली क्षेत्रमा हुने ‘रेडोडेन्ड्रन निभाल’ नामको गुराँसलाई ‘स्नो’ अर्थात् हिउँ गुराँससमेत भन्ने गरिन्छ ।रेडोडेन्ड्रन निभालजस्ता उच्च भेगका गुराँस साउन भदौमा मात्रै फुल्छन्। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलामको मंगलबारेमा रहेको १६.१ मीटर अग्लो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा रेकर्ड गरेको थियो ।

नेपालको पूर्वीभेगका ताप्लेजुङ, संखुवासभा र तेह्रथुमलाई जोड्ने संगमस्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रमा लालीगुराँसको जंगल रहेको छ। जलजलेमा मात्रै गुराँसका २८ प्रजाति पाइने भएकाले उक्त ठाउँलाई गुराँसको राजधानीसमेत भनिन्छ।

गुराँस नेपालसहित चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा पनि पाइन्छ यद्यपि अन्य मुलुकमा प्राकृतिक रुपमा नभई पछि लगेर सारिएको पाइएको हो ।

राष्ट्रिय फूल भएकाले लालि गुराँससँग हाम्रो भावनात्मक सम्बन्ध पनि उत्तिकै छ ।यसलाई विक्रम संवत् २०१९ सालमा नेपालको राष्ट्रिय फूलका रुपमा मान्यता दिइएको थियो ।

यसर्थ, म्यागङ गाउँपालिका भित्रका जंगलहरुमा पनि अबदेखि सकेसम्म लाली गुराँसको रुख लाई जोगाउन जरुरी देखिन्छ किनकि आफ्नो गाउँ घर सुन्दर देख्नको लागी लालि गुराँस फुलको पनि एउटा महत्त्वपूर्ण भुमिका हुनेगर्दछ।

छेकुदोर्जे तामाङ

म्यागङ -४ किम्ताङ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय