नुवाकोट /वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउनेबारे गरेको निर्णय आजदेखि लागु भएको हो।
चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भए अनुसार ब्याजदर घटाइएको सङ्घका अध्यक्ष सुनिल केसीले बताए । ‘सबै संस्थाको निर्णय अनुसार चैत १ गतेदेखि लागु हुने गरी ब्याजदर घटेको छ’ उनले भने ।


जसअनुसार बैंकहरुले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ । यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् । मुद्दती निक्षेपको ब्याजदर भने स्थिर छ, हालसम्म बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन्।
संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिटेन्स’ मुद्दती खातामा १२ प्रतिशत नयाँ ब्याजदर तोकिएको छ ।
यसैगरी विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने एक वर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ।
