स्रष्टा सिर्जना शर्मा मुक्तक सङ्ग्रह ‘मन्दाकिनी’ लिएर आएकी छन् ।तीन सय पन्ध्र थान मुक्तक समाविष्ट सङ्ग्रह उनको पहिलो कृति हो। प्रस्तुत मुक्तकहरूमा विविधता, स्तरीयता, मौलिकता तथा लयात्मकता सबै पाइन्छ। विशेषतः स्रष्टा शर्माले प्रेम, प्रणय, रोग, भोक, पीडा, सामाजिक असन्तुष्टि, राजनैतिक व्यङ्ग्य, विश्वास, अन्याय, अत्याचार, हत्या, शान्ति जस्ता विषयवस्तुलाई केन्द्रित गरेर लेखिएका मुक्तकहरू चोटिला तथा मर्मस्पर्शी छन् ।

मान्छेको जिन्दगीमा उतार चढाव आउँछ । जीवन जिउनु नै कला हो। चतु¥याइँ गरेमा सुखी भइन्छ। बेवास्ता गरी बस्दा दुःख निम्तन्छ। प्रत्येक मानिसले सुखदुःखलाई चिन्ने अवसर नजिकबाट प्राप्त गर्छ। सुख भएमा मात्तिने र दुःख भएमा आत्तिने कुरा हुँदैन। आफ्नो जीवनलाई बुझ्ने प्रयास गर्नु पर्दछ। मान्छेको जीवन क्षणिक छ। चलचित्रको कथा परिवेशलाई जस्तै संयोजन गर्न कठिन छ। मनभित्र पीडा, तनावले ग्रसित तर बाहिरी रूपमा सुसम्पन्न भएको अर्थ रहँदैन। मान्छेको सोच सदैव सकारात्मक राख्नु पर्दछ। यसो गरेमा जीवनमा आइलाग्ने दुःखलाई पनि सहज रूपमा लिइँदै सुखीको अनुभूति गर्न सकिन्छ। मान्छेको जीवनको अन्त्य नै दुःख हो ।अर्थात् मान्छेको जिउने क्रममा सुखभन्दा दुःखको अनुभूति साउने भेल जस्तै गरी आइदिन्छ ।
कहिले हाँसो कहिले रोदन जिन्दगीको खेल कस्तो
खुसी जीवन स्वर्गसरी दुःखी जीवन जेल जस्तो
कहिले उतार कहिले चढाव आफ्नो स्वार्थ पूरा गरी
उर्ली बग्छ थर्काइ बस्ती साउनको भेल जस्तो ।
० ० ०
चलचित्र जस्तो होइन जिन्दगीको कथा बेग्लै
सहनुपर्ने रैछ आखिर भए जति व्यथा एक्लै
कागजको त्यो फूलबाट सुगन्धको आश गर्छौ
मर्दा लान कसले सक्छ भन जयाजेथा भलै।

नेपाली चेलीहरू विशेषतः भारत र खाडी मुलुकहरूमा बेचिने क्रम जारी नै छ। दिन प्रतिदिन चेलीबेटी बेचबिखन कार्य भुसको आगो सल्के सरी भएको छ। चेलीबेटी बेचबिखन गर्दा प्राप्त भएको रकमले घर खर्च चलाउने र ऐस आराम गर्ने प्रवृत्ति मौलाएको छ। विशेषतः काममा लगाइदिने, डर, त्रास एवम् धम्की देखाएर तथा नाटकीय ढङ्गले विवाह गरेर पनि बेचबिखन हुने कार्य भएको छ। बेश्यालयबाट फर्किएका चेलीबेटी र रोजगारीका लागि खाडी मुलुकमा जाने आउने क्रम जारी छ। तिनीहरूबाट नै एड्स रोग भित्री मुलुकलाई नै त्रासद बनाइरहेको अवस्था छ। अतः चेलिबेटी बेचबिखन कार्यलाई निरुत्सहित गर्नु पर्दछ भन्ने सन्देशमुलक भाव कवि शर्माले यसरी व्यक्त गरेकी छिन् ।

ललाई फकाई देशकी चेली कोठीतिर पु¥याएछ
देखाएर सपना खाडीतिर पु¥याएछ
दलाल पनि आफ्नै गाउँको चेलीबेटी बेची
आफू भागी बिचरीलाई एड्स रोग भिराएछ ।

समाजमा देखिएको वास्तविकतालाई कविले जोडदार रूपमा उठाएका छन्। गरिबी, अशिक्षा र बेरोजगारका कारण समाजका युवाहरूले गति छाड्ने काम गरेकाले मुलुकको प्रतिष्ठामा आँच आएको कुरालाई निकै सशक्त रूपमा उठाइएको छ।

विकृति र विसंङ्गतिले छायो देशभित्र
अत्याचारले अत्यन्तै ठाउँ पायो देशभित्र
युवाहरू बरालिई सडक–गल्ली हिँड्दै छन्
बेरोजगारी महँगीले खायो देशभित्र।
वीरताको गाथाले सजिएको देश हो नेपाल ।मातृभूमिको रक्षा गर्नु नागरिकको कत्र्तव्य पनि हो। आफूभन्दा आफ्नो जन्मभूमि सबैलाई प्राणभन्दा प्यारो हुन्छ। नेपालको विगतको इतिहासलाई केलाउँदा थुप्रै उदाहरणहरू भेटिन्छन् ।शत्रुहरूले आफ्नो मातृभूमिप्रति गिद्धे दृष्टि लगाउनु स्वभाविकै हो। धेरैपटक वीर नेपालीहरूले आफ्नो मातृत्व रक्षाका लागि प्रतिकार स्वरूप हातमा घरेलु हतियार लिई युद्ध गरेका छन् । आफै मरेका छन् भने अरूलाई मारेका पनि छन् ।सदैव आफ्नो जन्मभूमिको पहरेदारी गरी वीरत्व प्रदर्शन गरेका छन् ।संसारमा नेपालीलाई गोरखाली अर्थात् बहादुर भनेर चिनिन्छ। यो गर्वको विषय हो। पुर्खाले आज्र्याको मुलुकको अपनत्व गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि रही यो मुलुकको गरिमालाई उच्च राख्ने गतिविधिमा समाहित हुनु पर्दछ जीवन रहेसम्म।
कति ढाल्यो शत्रुलाई नेपालीको पाखुराले
लुटिँदैथ्यो अस्मिता नचाएथ्यो खुकुरीले
बली दिई देशलाई बचाएको नेपाल यो
चिनिरा’छ आज देश अग्ला हिमाल टाकुरीले।
० ० ०
यदि देशले रगत मागे मेरो प्राण चढाइदिनू
कसै गरी भए पनि देशको माटो बचाइदिनू
छातीभरि देश राखी मुटुले ज्यान अर्पिदिँदा
कति रोयो मेरो देश अब भने हँसाइदिनू ।
० ० ०
धर्ती माता अब तिम्रो कसम खाई भन्छु
मेरो देश जय–जय झण्डा समाई भन्छु
यहीँ जन्मेँ केही गर्छु देश बचाउँछु
हट्ने छैन पछि म माटो छोई भन्छु।

आधा आकाश ढाक्ने महिलाहरूको शैक्षिक, आर्थिक, स्वास्थ्य, सामाजिक जस्ता सबैजसो ठाउँमा पुरुषभन्दा महिला पछि नै परेको देखिन्छ। आज महिलाको अधिकारलाई सुनिश्चित गरिएको छ यद्यपि कार्वान्वयनको पक्ष पितलो भएको छ। महिलाको पहुँच पुरुषसरह हुन सकेका छैनन् ।चुलो र चौकामा सीमित भएका महिलाहरू स्वतन्त्र हुुन सकेका छैनन्। घरेलु हिंसाबाट पीडित छन् महिलाहरू। रोग र भोकसँग पौँठाबाजी गर्दै बाँच्न विवश छन् ।पीडा, वेदना, दुःख रोदनलाई पचाउँदै परिवार, समाज र राष्ट्रप्रतिको दायित्व बहन गर्न पछि परेका छैनन् महिलाहरू।
आधा आकाश ओगट्दा नि अधिकार हुनु प¥यो
अन्याय र दमन मात्रै सम्झिएर रुनु प¥यो
भालेको डाकोसँगै पिठ्यूँभरि भारी बोकी
कस्तो भाग्य भयो मेरो अाँसुले मुख धुनु प¥यो ।
मान्छेको जीवनलाई सार्थक तुल्याउन शिक्षाको भूमिका अहम् हुन्छ। आफ्नो राज्यका सबै नागरिकलाई शिक्षित बनाउने राज्यको दायित्व हुन जान्छ । जीवन उपयोगी शिक्षा नै फलदायी हुन्छ । हाम्रो मुलुकको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो सावित भएको व्यङ्ग्य प्रहार कवयित्री शर्माले यसरी गरेकी छन् ।
योग्यताको सर्टिफिकेट मेरो हातमा परेकै छ
युवा जोसको तातो रगत शरीरभरि बगेकै छ
काम कतै पाइएन बेरोजगारी भइयो
ऋण काटी भए पनि जिन्दगी त चलेकै छ।
विश्वको भूगोलमा नेपाल एक सानो देश हो ।सीमित सहरीकरणले मान्छेको जीवन सहज भएको छ तर अधिकांश भूगोल विकट भएकाले गर्दा जीवन कष्टकर नै छ।

राज्य पक्षले मुलुकको सबै भूगोलमा समानुपातिक तरिकाले राज्यशक्तिको बाँडफाँड गर्न नसक्नाले पिछडिएका वर्गहरूको मन विद्रोही भएको थियो। विद्रोही पक्ष र राज्यबीचको मिलनको दुरी बढ्न जानाले तँछाड मछाडको स्थिति पैदा भयो। हत्या हिंसाको दुःखद् घटना घट्न पुग्यो ।लामो समयसम्म शान्तिको सास फेर्न पाइएन। दिन र रात कसरी कटाउने भन्ने स्थिति आइलाग्यो। दुरदराजमा रहेकाहरूका लागि जीवन झन कष्टकर बन्दै गयो। बितेका ती दिनहरूलाई सम्झँदै मुक्तककार शर्मा आपसमा मिलिजुली अगाडि बढेमा सबैको हित हुन जान्छ भन्ने भाव व्यक्त गर्छिन् ।
अति रोयो रूकुम रोल्पा सिर्जियो धर्ती रगतले नै
धिक्कार गयो आखिरीमा फिर्दै हिँड्न बखतले नै
मिलेर बसौँ हामी त्यो दिन फिर्ता नहोस् अब
अाँगनभरि लास देख्दा अाँसु छाड्थ्यो जगत्ले नै।
० ० ०
भाइ भाइ एक हामी विवादमा आउन हुन्न
कोही काखा कोही पाखा पर्न पनि पाउनु हुन्न
जिम्मेवारी बराबर हुन्छ मातृभूमि जननीमा
मातालाई नै चोट पुग्ने आरोप लगाउनु हुन्न।
मान्छेको जीवन लीला नै सुखदुःखको मञ्चन हो। सुख निम्तिँदैमा मात्तिनु र दुःख निम्तिँदैमा आत्तिनु हुँदैन। सुखभन्दा दुःख बढी निम्तन्छ। विवेक नगुमाईकन सबै खाले समस्याहरूलाई अँगाल्दै अगाडि बढ्नुको विकल्प केही छैन। खास गरेर नेपालमा बाढी पहिरो साथै भूकम्पका कारणले धनजनको क्षति व्यापक हुन गयो ।प्राकृतिक विगतले हाम्रा प्राकृतिक, ऐतिहासिक संस्कृति जस्ता सम्पदाहरू पनि तहस नहस भएका छन् । मुलुकलाई चिनाउने धार्मिक सम्पदा र पर्यटकीय स्थलहरू भनावशेषमा परिणत भएका छन् । विपत्तिले गर्दा गाउँ र बस्तीहरू बगर बनेका छन् ।गाउँ नै मानवरहित बन्न पुगेको छ। तसर्थ हामी नेपालीको आत्मीयता सदैव जोडिनु पर्दछ। पूर्व मेचीदेखि महाकालीसम्मका सदैब सबै नेपाली एक हौँ ।एकले अर्काको दुःखमा मलमपट्टी लगाउनु पर्दछ।

ढिला गर्ने बेला छैन निर्माणमा जुट्नु पर्छ
पुरातत्व धरोहर हो इतिहासमा खट्नु पर्छ
विपत्तिको मारमा छौँ सिङ्गो देशै दुखेको छ
नेपाली हौँ सारा हामी दुःख पीडा छुट्नुपर्छ।

समग्रमा कवि शर्माले मुक्तक सिद्धान्तलाई अक्षरस पालन गरेको देखिन्छ।तसर्थ शर्माले आफूलाई मक्तककारका रूपमा उभ्याउने प्रयत्नमा सफलता प्राप्त गर्न सकेकी छन् ।उनका मुक्तकहरू पठनीय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय