राजनीति रोचक बन्दै: कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर ठाकुरलाई रास्ट्रपति बनाउने

ताजा समाचार राजनीति समाचार

नुवाकोट /
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर राष्ट्रिय राजनीतिलाई नयाँ तवरले अघि बढाउन खोजेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कोर टिमसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रिय राजनीतिमा आफ्नो दलको भूमिका स्थापित गराउनेबारे छलफल गरेका छन् ।

उनीसँगको छलफलमा सहभागी अधिकांश नेताहरुले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सुझाव दिएका छन् ।आजमात्रै देउवाले पूर्व महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत र नेता दीपक खड्कासँग आन्तरिक छलफल गरेको बुझिएको छ। सो छलफलमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर राष्ट्रपतिमा सबैको साझा व्यक्तिलाई अघि सार्नुपर्ने कुरा उठेको छ ।

कांग्रेसले एमालेलाई राष्ट्रपति दिन नहुने निश्कर्ष निकालेको छ। विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि सहकार्य गरेकोले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अघि सार्ने कांग्रेसको तयारी छ। कतिपय नेताले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सभामुख लिनुपर्नेमा पनि सभापति देउवालाई सुझाएका छन् ।तर, देउवा भने अहिले निर्णय लिने पक्षमा छैनन् ।

उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने वा नदिने भन्नेबारे पुष २६ गते बस्ने संसदीय दलको बैठकबाट निर्णय लिन चाहन्छन्। तर, उनले पनि राष्ट्रपतिमा साझा व्यक्ति ठाकुरलाई अघि सार्ने सोच बनाएका छन्। माओवादीले नै विश्वासको मत दिन प्रस्ताव गरेको र सहकार्यको सम्भावना जिवित राख्न सुझाएको कारण देउवा सकारात्मक देखिएका छन् ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *